काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका ऐतिहासिक व्यक्तित्वहरूको मूल्याङ्कन वस्तुगत र सन्तुलित ढंगले गर्नुपर्ने बताएकी छन् ।
श्री ३ महाराज जंगबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र जंगबहादुर’ विषयक प्रवचन कार्यक्रममा बोल्दै भण्डारीले इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय नभई समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन भएको बताइन् ।
उनले भनिन्, ‘इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो । त्यसैले, जंगबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पनि हामीले वस्तुगत तथा सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्दछ ।’
उनले नेपालको राजनीतिक अस्थिरता, षड्यन्त्र र शक्ति सङ्घर्षले ग्रस्त अवस्थामा जंगबहादुरको उदय भएको उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई संस्थागत र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखिन् । वि.सं. १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताका रूपमा लिन सकिने उनको भनाइ थियो ।
उनले भनिन्, ‘राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप वि.सं. १९१० मा उहाँद्वारा जारी मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताको रूपमा लिन सकिन्छ। यद्यपि, त्यस ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिविम्बित थिए, जुन आजको मूल्य, मान्यताका दृष्टिले स्वीकार्य मानिँदैन। तथापि, इतिहासको मूल्याङ्कन गर्दा त्यस समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतना स्तरलाई समेत सँगसँगै बुझ्नु आवश्यक हुन्छ ।’
भण्डारीले जंगबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरूको पनि चर्चा गर्दै सती प्रथालाई निरुत्साहित गर्ने पहल उल्लेखनीय रहेको बताइन् । यद्यपि, तत्कालीन समाजको संरचना र चेतनास्तरलाई ध्यानमा राखेर इतिहासको मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिइन् ।
उनले १९औँ शताब्दीको औपनिवेशिक विस्तारको समयमा नेपालले आफ्नो सार्वभौम अस्तित्व जोगाउन सफल हुनुमा जंगबहादुरको नेतृत्व महत्त्वपूर्ण रहेको बताइन् । बेलायत भ्रमणपछि उनले अपनाएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ थियो । साथै, नेपाल–ब्रिटिश भारत सीमाना व्यवस्थापनका क्रममा निर्माण गरिएका जंगे पिलरहरूले सीमाको स्पष्टता र प्रशासनिक स्थिरतामा योगदान पुर्याएको उनले उल्लेख गरिन् ।
उनले वर्तमान नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया