ढल्केबर, असार ८ गते । धनुषाको सहिदनगर नगरपालिका–३, यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि बेपत्ता हुनुहुन्छ । गत आइतबार दिउँसो औषधी लिन घरबाट जनकपुरका लागि निस्कनुभएका मण्डल त्यसयता सम्पर्कविहीन रहेको परिवारका सदस्यले जनाएका छन् । पूर्ववडाध्यक्ष मण्डलकी भाउजू पार्वती मण्डलले देवर सम्पर्कविहीन बनेपछि घरपरिवारका सदस्य चिन्तामा रहेको बताउनुभयो । उहाँका अनुसार मण्डललाई दुई महिनादेखि राति निन्द्रा नलाग्ने समस्या थियो । उहाँ नियमित औषधी सेवन गर्दै आउनुभएको थियो । औषधी सकिएपछि जनकपुर जान भन्दै मोटरसाइकल लिएर घरबाट निस्कनुभएको हो । त्यसपछि उहाँ घर फर्किनुभएको छैन र फोनमा समेत सम्पर्क हुन सकेको छैन ।
भाउजू पार्वतीले घरपरिवारमा कुनै विवाद वा मनमुटाब नभएको बताउँदै मण्डल सामान्य अवस्थामै औषधी लिन घरबाट निस्कएको जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट जनकपुरको पुलचोकस्थित घरमा सुरक्षित रहेको छ । उहाँकी भाउजू मण्डलले खोजी कार्य गरिदिन सरोकारवालालाई आग्रह गर्नुभएको छ । छिमेकी दीपेन्द्र मण्डलले पूर्ववडाध्यक्ष मण्डल जनकपुर गएकै दिन रेल चढेर जयनगरतर्फ गएको सूचना प्राप्त भएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले पूर्ववडाध्यक्ष मण्डलको खोजतलास जारी रहेको बताउनुभयो । उहाँले बेपत्ता भएकै दिन भारतको जयनगर रेलवे स्टेसनमा जडान गरिएको सिसिटिभी क्यामरामा मण्डल देखिएको जानकारी दिनुभयो । प्रहरी निरीक्षक घिमिरेका अनुसार मण्डलको मोबाइल फोनको अन्तिम लोकेसनसमेत जयनगर क्षेत्रमा देखिएको छ । उहाँले भन्नुभयो, “हामीले घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराइसकेका छौँ । जिल्लाको समन्वयमा खोजी भइरहेको छ । सीमाक्षेत्रमा रहेका सुरक्षा निकाय र मातहतका प्रहरी चौकीसँग समन्वय गरेर खोजतलासलाई निरन्तरता दिएका छौँ ।’’
मण्डल २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा उहाँ पराजित हुनुभयो । हाल उहाँले जसपा नेपाल परित्याग गरी स्वतन्त्र रूपमा सामाजिक गतिविधिमा सक्रियता जनाउँदै आउनुभएको छ । पूर्ववडाध्यक्ष मण्डल हाल जनता एकाइ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएको उहाँका छिमेकीले बताएका छन् ।

प्रतिक्रिया