बनेपा, असार ८ गते । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ठुलीबेशीँमा टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार राती करिब १० बजेको समयमा टिप्परले च्यापिएर पाँचखाल नगरपालिका–८ घर भई हाल वडा नम्बर–४ बस्ने वर्ष १९ का देवेन्द्र तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन बिष्टका अनुसार मण्डनदेउपुर–१२ स्थित बेतेनी बगरमा बा ४ ख ९८२५ नम्बरको टिप्पर बालुवा लोड गरी ब्याक गर्ने क्रममा रोकी राखेको बा ४ ख ९९०९ नम्बरको टिप्परको बीचमा च्यापिएर घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । उहाँले दुई टिप्परको बीचमा च्यापिएर युवकको मृत्यु भएपछि स्थानीयवासीले दुबै टिप्परको झ्याल ढोकाको सीसा फुटाई तोडफोड गरेको बताउनुभयो । प्रहरीले घटनामा संलग्न भएका दुबै टिप्पर नियन्त्रणमा लिनुको साथै ठक्कर दिने बा ४ ख ९८२५ नम्बरको टिप्परका चालक ललितपुर गोदावरी नगरपालिका– ६ बस्ने ३९ वर्षीय दीपक सत्याललाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया