भक्तपुर। भक्तपुरको नगरकोट क्षेत्रमा सामान्य विवादले हिंसात्मक रूप लिँदा एक युवाको मृत्यु भएको छ। आइतबार राति करिब १० बजेतिर भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २८ वर्षीय आकाश रसाइलीको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका रसाइली हाल नगरकोटमोड क्षेत्रमा बस्दै आएका थिए। घटनापछि गम्भीर अवस्थामा उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१३ का ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका–३ का २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घासका ३५ वर्षीय रमेश कुँवर रहेका छन्। उनीहरू हाल भक्तपुरको सल्लाघारी क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रहरीले घटनाको कारण र चक्कु प्रहारको वास्तविक परिस्थिति सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया