ममता बनर्जीको पार्टीमा ठूलो विभाजन : बनर्जीलाई पार्टी अध्यक्षबाट हटाइयो

ममता बनर्जीको पार्टीमा ठूलो विभाजन : बनर्जीलाई पार्टी अध्यक्षबाट हटाइयो


एजेन्सी । भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा पराजयपछि तीन कार्यकाल मुख्यमन्त्री रहेकी ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसमा व्यापक मतभेद र ठूलो विभाजन भएको छ ।

बनर्जीले यो दल सन् १९९८ मा भारतीय राष्ट्रिय कांग्रेसबाट अलग हुँदै गठन गरेकी थिइन् ।

यही दलको माध्यमबाट सन् २०११ को विधानसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को ३४ वर्ष लामो शासन अन्त्य गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गरेकी थिइन् ।

त्यसपछि सन् २०१६ र २०२१ को निर्वाचनमा समेत बहुमत हासिल गर्दै ममता लगातार तीन कार्यकाल पश्चिम बंगालको मुख्यमन्त्री भइन् ।

तर, २०२६ को हारले २८ वर्षपछि उनको पार्टी अस्तित्व संकटको अवस्थामा पुगेको छ । निर्वाचनमा पराजयपछि पनि उनले आफैँलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता घोषणा गरेकी थिइन् ।

ऋतव्रत बनर्जीको नेतृत्वमा ५८ विधायकले संसदीय दलबाट विद्रोह गरी भिन्नै संसदीय दल बनाए । ममता बनर्जीको पक्षमा २० विधायक मात्र बाँकी रहे ।

मंगलबार कोलकातामा एक बैठक गर्दै बहुमत विधायकले ममता बनर्जीलाई पार्टी अध्यक्षबाट समेत हटाएर अनुप रायलाई नयाँ पार्टी अध्यक्ष चुनेको घोषणा गरेका छन् ।

७१ वर्षीय ममता बनर्जी उचित अवसरमा पार्टी नेतृत्व भतिजा अभिषेक बनर्जीमा सार्न चाहन्थिन् । ममतासँग सत्ता रहुन्जेल चुपचाप रहँदै आएका नेता कार्यकर्ताले चुनावी हारपछि अभिषेकको नेतृत्व र हालीमुहाली अस्वीकार गर्दै विद्रोह गरेका हुन् ।

विद्रोही समूह पश्चिम बंगालको मुख्य विपक्षी दल बनेको छ । तर, यसको प्रभाव पार्टीको लोकसभा संसदीय दलसम्म पुगेको छ ।

लोकसभाका २८ तृणमूल सांसदमध्ये २० जना पार्टी परित्याग गरी नयाँ दल नेसनल सिटिजन पार्टी अफ इन्डियामा (एनसीपीआई ) सामेल भएका छन् । दलले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई समर्थन दिने र सत्तापक्षीय ‘एनडीए’ मा सामेल हुने निर्णयसमेत गरेको छ ।

एनसीपीआई सन् २०२२ मा दर्ता भई बसेको एक कानुनी तर खासै राजनीतिक भूमिका नभएको दल थियो । २० तृणमूल सांसद प्रवेश गरेसँगै यो भारतीय लोकसभाको पाँचौं ठूलो दल बनेको छ ।

तृणमूल सांसद काकोली घोष दास्तीदार एनसीपीआईको नयाँ अध्यक्ष र संसदीय दलको नेता बनेकी छन् । उनले सन् २००९ यता ४ पटक तृणमूल कांग्रेसको चुनाव चिह्नमा लोकसभा सदस्यको निर्वाचन जितेकी थिइन् ।

विद्रोही समूहले अध्यक्षबाट ममतासँगै पार्टी महासचिवबाट अभिषेक बनर्जीलाई समेत हटाउने निर्णय गरेको छ ।

ऋतव्रत बनर्जीको नेतृत्वमा रहेको विधानसभाको बहुमतपक्ष र एनसीपीआईमा समेल भएको विद्रोही लोकसभा सदस्यहरू बीचको कानुनी सम्बन्ध प्रस्ट भएको छैन ।

ऋतव्रत समूहले भने आफूहरूलाई तृणमूल कांग्रेसको आधिकारिक समूह दाबी गरेको छ । पार्टी नाम र चुनाव चिह्नमा दाबी गरेको छ ।

यी घटनासँगै तृणमूल कांग्रेसको अस्तित्व समाप्त हुने संभावना देखिएको छ । ममता–अभिषेक समूह भारतीय राष्ट्रिय कांग्रेसमा विलयन हुन सक्ने संभावनाबारे चार्चा भइरहेका छन् ।