काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ बानेश्वर शाखाबाट जेनजी आन्दोलनमा लुटिएको सुनबारे सञ्चालक समिति पूर्ण भएपछि निर्णय गर्ने बताएको छ । बैंकले सुन धितो ऋणी ग्राहकहरूलाई आगामी असार मसान्तसम्म आन्दोलनका कार्यक्रमहरू स्थगित गर्न आग्रह गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार अहिले बैंकको सञ्चालक समिति पूर्ण छैन । बैंकमा सञ्चालक समितिको पूर्णता पश्चात बैंकबाट हुने निर्णय पीडितलाई उपलब्ध गराइने भएको छ । बैंक ग्राहकहरूको समस्याप्रति संवेदनशील रहेको समेत उनले बताएका छन् ।
गएको भदौ २४ गते भएको जेनजी आन्दोलनकाक्रममा बैंककाे नयाँ बानेश्वर शाखाबाट करिब १८ केजी सुन लुटपाट भएको थियो । आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाटमा परी ग्राहकहरूले कर्जा सुरक्षणका लागि राखेको सुन तथा गहनाहरू क्षति भएका थिए ।
लुटपाट भएको सुनका ग्राहकहरूलाई क्षतिपूर्ति दिने सम्बन्धमा बैंक सञ्चालक समितिको २०८२ माघ २८ गतेको बैठकले घटना भएकै मितिको बजार मूल्यमा क्षतिपूर्ति दिने निर्णय गरेको थियो । उक्त निर्णय माघ २९ गते सार्वजनिक गरेको थियो ।
तर, बैंकको उक्त निर्णयमा असहमति जनाउँदै पीडित ग्राहकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले आफ्नो कूल तौल बराबरको सुन नै बैंकले फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया