सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्ने म्याद थप

सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्ने म्याद थप


काठमाडौं । काठमाडौं महानगर क्षेत्रको विभिन्न जोखिमयुक्त बस्तीबाट हटाइएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राखिएको होल्डिङ सेन्टर खाली गर्ने समयावधि थपिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै यसअघि आज (असार १२ गते)सम्म तोकिएको समयावधि बढाएर असार १९ गतेसम्म पुर्‍याएको जनाएको छ ।

समितिका अनुसार वैशाख १२, १३, १९ र २० गते काठमाडौं उपत्यकाको विष्णुमती तथा मिच्का (धोबी) खोला किनारका विभिन्न जोखिमयुक्त बस्ती हटाउने क्रममा टुँडिखेलस्थित होल्डिङ सेन्टरमा राखिएका परिवारलाई सरकारले तोकेको मापदण्डअनुसार पुनः व्यवस्थापनका लागि घरभाडा रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

यसका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचामा निवेदन भरी असार १५ गते गोदावरीस्थित दशरथ रंगशालामा उपस्थित भएर निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

समितिले यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गरी आफ्नै व्यवस्थापनमा जान आग्रह गरेको थियो । तर, घरभाडा प्राप्त गर्ने प्रक्रियाका कारण समय अपुग भएको गुनासो आएपछि म्याद थप गरिएको जनाएको छ ।

समितिले थपिएको समयभित्र घरभाडा रकम प्राप्त गर्ने प्रक्रिया पूरा गरी असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।