भेनेजुएलाका युवा फुटबलर बेरोटेरानको भूकम्पमा परेर मृत्यु

भेनेजुएलाका युवा फुटबलर बेरोटेरानको भूकम्पमा परेर मृत्यु


काठमाडौँ । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्पपछि उद्धार कार्यका क्रममा २० वर्षमुनिका राष्ट्रिय टोलीका खेलाडी यिमभर्ट बेरोटेरानको मृत्यु भएको पुष्टि भएको छ । भेनेजुएला फुटबल महासंघ (एफभीएफ)ले शुक्रबार विज्ञप्ति जारी गर्दै १८ वर्षीय फरवार्ड बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पुरिएका उनको शव उद्धारकर्ताले करिब २४ घण्टापछि फेला पारेका थिए । दुई दिनयता आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ९ सय नाघिसकेको बताइएको छ । बेरोटेरान घरेलु क्लब युनिभर्सिदाद सेन्ट्राल (यूसीभी) बाट खेल्थे । उनले गत डिसेम्बरमा क्लबलाई पहिलो पटक भेनेजुएलाको लिग उपाधि जिताउन योगदान दिएका थिए भने सोही सिजन राष्ट्रिय कप पनि जितेका थिए । त्यसै महिनामा उनले कतारमा आयोजित फिफा यू–१७ विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए, जहाँ टोली अन्तिम ३२ सम्म पुगेको थियो ।

एफभीएफले विज्ञप्तिमा भनेको छ, ‘भेनेजुएला फुटबल महासंघ यिमभर्ट बेरोटेरानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । आज भेनेजुएलाली फुटबलले देशको जर्सीलाई गर्व, समर्पण र प्रेमका साथ प्रतिनिधित्व गर्ने एक प्रतिभाशाली युवा गुमाएको छ । उनको असामयिक निधनले सम्पूर्ण भिनोटिन्टो परिवारलाई स्तब्ध बनाएको छ।’ महासंघले बेरोटेरानका परिवार, साथीभाइ, टोलीका सदस्य, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै उनको योगदान सधैं स्मरणीय रहने जनाएको छ ।