जनसम्पर्क समितिको महाधिवेशनमा केन्द्रीय प्रतिनिधि अनिवार्य हुनुपर्ने कांग्रेसको निर्देशन

जनसम्पर्क समितिको महाधिवेशनमा केन्द्रीय प्रतिनिधि अनिवार्य हुनुपर्ने कांग्रेसको निर्देशन


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई महाधिवेशन आयोजना गर्दा केन्द्रीय निर्वाचन समितिले खटाएको प्रतिनिधिको अनिवार्य उपस्थितिमा मात्र अधिवेशन गर्न निर्देशन दिएको छ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

समितिले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले २०८२ चैत ११ गते गरेको निर्णयअनुसार १५औँ महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको महाधिवेशन २०८३ साल साउन मसान्तभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था स्मरण गराएको छ।

बैठकले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा १४ (३) अनुसार जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ।

निर्णयअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूले कार्यतालिकाअनुसार सदस्यताको विवरण केन्द्रमा पठाई पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति लिएपछि मात्रै निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने व्यवस्था रहनेछ।

यसैअनुसार जनसम्पर्क समितिहरूलाई महाधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन तथा समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै महाधिवेशन सञ्चालन गर्न परिपत्र गर्ने निर्णय पनि बैठकले गरेको छ।