यही प्रशिक्षक रहेसम्म म खेल्दिनँ – पापे गुएय

यही प्रशिक्षक रहेसम्म म खेल्दिनँ – पापे गुएय


काठमाडौं । सेनेगलका मिडफिल्डर पापे गुएयले वर्तमान प्रशिक्षक टोली कायम रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् ।

सन् २०२६ फिफा विश्वकपको राउन्ड अफ ३२ मा बेल्जियमसँग ३–२ को नाटकीय हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएलगत्तै गुएयले यस्तो घोषणा गरेका हुन् ।

उक्त खेलमा सेनेगलले २–० को अग्रता बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा बेल्जियमले शानदार पुनरागमन गर्दै ३–२ को जित निकाल्यो र सेनेगलको विश्वकप यात्रा समाप्त गरिदियो । खेलका क्रममा गुएयलाई दोस्रो हाफमा प्रतिस्थापन गरिएको थियो ।

हारपछि इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै गुएयले टोलीको विश्वकपबाट बाहिरिनुको कारणबारे पछि विस्तृत रूपमा बोल्ने बताएका छन् । उनले वर्तमान प्रशिक्षक टोलीप्रति असन्तुष्टि जनाउँदै उनीहरू पदमा रहुञ्जेल राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “हामी प्रतियोगिताबाट बाहिरिनुको कारणबारे म पछि बोल्नेछु । तर आज म घोषणा गर्छु, जबसम्म यही प्रशिक्षक टोली रहन्छ, म राष्ट्रिय टोलीका लागि खेल्ने छैन ।”

गुएयको यो घोषणाले सेनेगली फुटबलमा तरंग पैदा गरेको छ । विश्वकपबाट निराशाजनक रूपमा बाहिरिएपछि राष्ट्रिय टोलीबाट सार्वजनिक रूपमा आफूलाई अलग राख्ने घोषणा गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

यद्यपि उनले टोलीभित्र देखिएका समस्याबारे विस्तृत खुलासा गरेका छैनन् । तर उनको अभिव्यक्तिले प्रशिक्षक टोलीप्रति खेलाडीहरूबीच असन्तुष्टि रहेको संकेत गरेको विश्लेषण गरिएको छ ।

विश्वकपबाट अप्रत्याशित बहिर्गमनपछि सेनेगल फुटबल संघमाथि प्रशिक्षक टोलीको भूमिकाबारे थप दबाब पर्ने अनुमान गरिएको छ ।