दिनभर खोज्दा पनि भेटिएन कर्णालीमा खसेको बस

दिनभर खोज्दा पनि भेटिएन कर्णालीमा खसेको बस


काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा कर्णाली नदीमा खसेको यात्रुवाहक बस बिहीबार दिनभर गरिएको खोजीका क्रममा पनि फेला पर्न सकेन ।

बिहान करिब साढे ११ बजे दुर्घटनामा परेको बस खोज्न सुर्खेतबाट खटिएका सशस्त्र प्रहरीका ६ जना गोताखोरले दिनभर प्रयास गरे पनि नदीको प्रतिकूल अवस्थाका कारण सफलता हात लागेन ।

वर्षासँगै नदीको बहाव बढ्नु, पानी अत्यधिक धमिलो हुनु र बस पूर्ण रूपमा डुबेको हुन सक्ने अनुमानका कारण खोजी कार्य जटिल बनेको प्रहरीले जनाएको छ ।

दैलेख प्रहरीका अनुसार दुर्घटनास्थलको भीरमा अचेत अवस्थामा भेटिएका करिब ३५ वर्षीय एक पुरुषलाई उद्धार गरी जिल्ला अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन् । उनको परिचय खुलाउने प्रयास भइरहेको छ ।

बसमा कति जना सवार थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन । प्रारम्भिक विवरणअनुसार सुर्खेतबाट तीन जना यात्रुले टिकट काटेको खुलेको छ भने चालक र सहचालकसहित कम्तीमा पाँच जना बसमा रहेको अनुमान गरिएको छ । तर, बीच बाटोबाट थप यात्रु चढेका हुन सक्ने भएकाले वास्तविक संख्या यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थल अत्यन्तै भीरालो छ । भीरमा बसका टुक्राटाक्री देखिए पनि मुख्य भाग भने नदीभित्र हराएको अवस्थामा छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक बस करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको प्रारम्भिक अनुमान छ । दुर्घटनास्थल प्रहरी चौकी पाल्ताडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ ।

प्रहरीले शुक्रबार बिहानदेखि पुनः गोताखोर परिचालन गरी खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ ।