कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले शुक्रबार त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा छड्के अनुगमन गरी सेवा प्रवाह, डिजिटल प्रणाली र प्रशासनिक सुधारको अवस्थाबारे जानकारी लिएकी छन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोली लिएर कार्यालय पुगेकी मन्त्री यादवलाई कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयमा गरिएका सुधारका कामबारे जानकारी गराइन् ।

श्रेष्ठका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ कार्यान्वयन गर्दै कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको छ । अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । घरबाटै अनलाइनमार्फत कम्पनी दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका साथै कम्पनी दर्तापछि स्थायी लेखा नम्बर (प्यान) लिन आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने व्यवस्था पनि हटाइएको छ । कम्पनी दर्ता प्रणालीलाई कर प्रणालीसँग एकीकृत गरिएकाले कम्पनी दर्तासँगै प्यान नम्बर प्राप्त हुने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । यसबाट सेवाग्राहीको समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ ।

कार्यालयले सेवाग्राहीका गुनासा तथा जिज्ञासाको सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यसमार्फत कम्पनी दर्तासम्बन्धी जानकारी तथा आवश्यक सहजीकरण २४सै घण्टा उपलब्ध हुने व्यवस्था गरिएको छ ।

अनुगमनका क्रममा मन्त्री यादवले कार्यालयका विभिन्न शाखाको निरीक्षण गर्दै सेवाग्राहीले सहज रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न र प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइन् ।

यसैबीच, कम्पनी रजिष्ट्रार कार्यालयले डिजिटल प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि जनशक्ति व्यवस्थापनमा पुनर्संरचना आवश्यक रहेको भन्दै २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरेको जनाएको छ ।

कार्यालयका अनुसार आधुनिक प्रविधिको प्रभावकारी प्रयोगबाट कम जनशक्तिबाट पनि छिटो र गुणस्तरीय सेवा दिन सकिने भएकाले कर्मचारी संख्या घटाउँदा राज्यको प्रशासनिक खर्चसमेत कम हुने अपेक्षा गरिएको छ ।

मन्त्री यादवको अनुगमनमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको टोली सहभागी थियो । टोलीलाई रजिष्ट्रार श्रेष्ठले कार्यालयका विभिन्न शाखा तथा कार्यकक्षको निरीक्षण गराइन् ।