काठमाडौं । भारतका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले इंग्ल्यान्डविरुद्ध म्यानचेस्टरमा भइरहेको दोस्रो टी–२० अन्तर्राष्ट्रियबाट डेब्यु गरेका छन्। उनी भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा कम उमेरका पुरुष खेलाडी बनेका छन्।
उपकप्तान तिलक वर्माले सूर्यवंशीलाई डेब्यु क्याप हस्तान्तरण गरेका हुन्। भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। टोलीमा वैभवले सञ्जु स्यामसनको स्थान लिएका छन्।
१५ वर्ष ९९ दिनको उमेरमा डेब्यु गरेका सूर्यवंशीले पुरुष क्रिकेटमा भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेल खेल्ने सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन्। सचिनले सन् १९८९ मा पाकिस्तानविरुद्ध १६ वर्षको उमेरमा टेस्ट क्रिकेटबाट डेब्यु गरेका थिए।
यसअघि भारतीय महिला क्रिकेटर शेफाली वर्माले १५ वर्ष २८९ दिनको उमेरमा भारतबाट अन्तर्राष्ट्रिय डेब्यु गर्दै सचिनको समग्र भारतीय कीर्तिमान तोडेकी थिइन्। अब भने वैभवले १५ वर्ष ९९ दिनमै डेब्यु गर्दै शेफालीको कीर्तिमानसमेत उछिनेका छन्।
भारतीय कप्तान श्रेयस अय्यरले वैभवको डेब्युबारे भने, “पछिल्ला केही महिनामा उनले देखाएको प्रदर्शनले उनको आत्मविश्वास स्पष्ट देखिन्छ। उनलाई टोलीमा राख्न कुनै दबाब थिएन, उनले आफ्नो स्थान योग्यताले कमाएका हुन्।”
उनले थपे, “उनी दबाब लिँदैनन्, निडरतापूर्वक खेल्छन्। उनको स्वभाव निकै शान्त छ र टोलीका लागि उनी सकारात्मक ऊर्जा हुन्।”
अय्यरका अनुसार भारतीय टोलीमा स्थानका लागि अहिले कडा प्रतिस्पर्धा छ र पछिल्ला दुई वर्षमा धेरै प्रतिभाशाली खेलाडी उदाएका छन्।

प्रतिक्रिया