धनकुटा। धनकुटामा नेपाली कांग्रेसलाई ठूलो राजनीतिक झट्का लागेको छ। दोस्रो संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक रूपमा कांग्रेस परित्याग गरेका छन्।
उनीहरूले कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रमा पार्टीभित्र बसेर काम गर्ने वातावरण समाप्त भएको, वैचारिक असहमति बढ्दै गएको र संगठनले आफ्ना धारणा सुन्ने अवस्था नरहेकाले पार्टी छोड्न बाध्य भएको उल्लेख गरिएको छ।
पार्टी छोड्नेमध्ये संविधानसभा सदस्य तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली, कांग्रेस कोशी प्रदेश सदस्य मिना राई, क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बू, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बू, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बू, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बा रहेका छन्।
उनीहरूले हालसम्म आफूहरू कुन राजनीतिक दलमा आबद्ध हुने भन्ने औपचारिक घोषणा गरेका छैनन्। यद्यपि धनकुटाको राजनीतिक वृत्तमा उनीहरू हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुन सक्ने चर्चा तीव्र बनेको छ।
एकैपटक प्रभावशाली नेतासहित १९ जनाको बहिर्गमनले धनकुटामा कांग्रेसको संगठन र आगामी राजनीतिक समीकरणमा असर पर्ने विश्लेषण हुन थालेको छ।



प्रतिक्रिया