एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा उनका छोराहरू पनि सहभागी भएका छन्।
दिवंगत खामेनीका तीन छोरा मसूद, मेसम र मुस्तफाले तेहरानमा आयोजित प्रार्थना सभामा सहभागिता जनाएका हुन्। अमेरिका र इजरायलको आक्रमणमा सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि खामेनी परिवारका कुनै सदस्य पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्।
यद्यपि, अली खामेनीका दोस्रो छोरा तथा हालका सर्वोच्च नेता मोज्तबा खामेनी भने प्रार्थना सभामा उपस्थित भएनन्। इजरायली आक्रमणको जोखिमलाई ध्यानमा राख्दै वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनीले अन्त्येष्टि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका बताइएको छ। यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमाण्डर अहमद वाहिदी तथा एलिट कुद्स फोर्सका कमाण्डर इस्माइल कानी प्रार्थना सभामा सहभागी भएका थिए।
तेहरानमा खामेनीका लागि प्रार्थना सभा
आइतबार तेहरानस्थित ग्रान्ड मोसल्ला धार्मिक परिसरमा दिवंगत सर्वोच्च नेता अली खामेनीको सम्झनामा प्रार्थना सभा आयोजना गरिएको थियो। इरानको तस्नीम समाचार एजेन्सीका अनुसार, देशका वरिष्ठ धार्मिक नेतामध्ये एक जाफर सोभानीले उक्त सभाको नेतृत्व गरेका थिए।
यस अवसरमा खामेनी र उनका परिवारका चार सदस्यका लागि विशेष प्रार्थना गरिएको थियो। तीमध्ये उनकी १८ महिनाकी नातिनी पनि थिइन्। उनीहरू सबै अमेरिका–इजरायलको आक्रमणमा मारिएका थिए।
इरानदेखि इराकसम्म अन्त्येष्टि यात्रा
सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रम तेस्रो दिनसम्म जारी छ। शुक्रबार सुरु भएको यो कार्यक्रम एक सातासम्म चल्ने जनाइएको छ।
सोमबार तेहरानमा अन्त्येष्टि यात्रा निकालिनेछ, जसमा लाखौं मानिस सहभागी हुने अपेक्षा गरिएको छ। मंगलबार इरानको पवित्र शहर कोममा श्रद्धाञ्जलि सभा आयोजना गरिनेछ।
त्यसपछि बुधबार शवहरू इराकका नजफ र कर्बलामा लगिने कार्यक्रम रहेको छ, जहाँ शिया मुस्लिमहरूका लागि अत्यन्तै पवित्र मानिने इमाम अली र इमाम हुसेनका धार्मिक स्थल रहेका छन्। त्यसपछि बिहीबार शवहरू पुनः इरान ल्याइनेछ र मशहदस्थित इमाम रजाको पवित्रस्थलमा दफन गरिनेछ। मशहद अली खामेनीको जन्मस्थल पनि हो।

प्रतिक्रिया