मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ – अध्यक्ष श्रेष्ठ

मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ – अध्यक्ष श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले बजेटले केही विषय सम्बोधन गरे पनि बाँकी रहेका महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

उनले,‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ । जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ । बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास गरेका छौं ।’

श्रेष्ठले विगतका मौद्रिक नीतिले निजी क्षेत्रलाई केही राहत दिएको स्मरण गर्दै यसपटक पनि अर्थतन्त्रलाई चलायमान बनाउने साहसी र व्यवहारिक नीति आवश्यक रहेको बताए ।

उनले नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको दाबी गर्दै राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै रोजगारी विस्तार सम्भव हुने बताए । ‘रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

श्रेष्ठले नेपाल अझै पनि करिब ७० प्रतिशत वस्तु विदेशबाट आयात गर्न बाध्य रहेको उल्लेख गर्दै स्वदेशमै उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । ‘हामीले ३० प्रतिशत मात्रै उत्पादन गर्छौँ, बाँकी ७० प्रतिशत आयात गर्छौँ । अब ती वस्तु यहीँ उत्पादन गर्न सकिन्छ कि भन्ने सोच राज्यले बनाउनुपर्छ,’ उनले भने ।

उनले उद्योग प्रवद्र्धनका लागि लगानीमैत्री नीति आवश्यक रहेको बताउँदै उत्पादन बढे अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुन सक्ने धारणा राखे ।

जग्गामा लगानी गर्ने प्रवृत्तिमाथि टिप्पणी गर्दै उनले भने,‘जग्गामा लगानी नगरेर के गर्ने ? व्यवसाय गर्न बैंकबाट ऋण लिन पनि जग्गा नै धितो राख्नुपर्छ । त्यसैले राज्यको नीति र नियत स्पष्ट तथा लगानीमैत्री हुनुपर्छ ।’