प्रिमियर लिगको तिक्तता अब विश्वकपमा : हालान्ड र गाब्रिएलबीच फेरि रोमाञ्चक भिडन्त

प्रिमियर लिगको तिक्तता अब विश्वकपमा : हालान्ड र गाब्रिएलबीच फेरि रोमाञ्चक भिडन्त


काठमाडौं । प्रिमियर लिगका दुई कट्टर प्रतिद्वन्द्वी खेलाडीबीचको व्यक्तिगत तिक्तता अब विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पुग्ने भएको छ ।

नेपाली समयअनुसार सोमबार हुने फिफा विश्वकपको अन्तिम १६ को खेलमा ब्राजिल र नर्वे आमनेसामने हुँदैछन्, जहाँ सबैको नजर एरलिङ हालान्ड र गाब्रिएल मागाल्हाएसबीचको भिडन्तमा हुनेछ ।

म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर हालान्ड र आर्सनलका सेन्टर–ब्याक गाब्रिएल पछिल्ला केही वर्षयता प्रिमियर लिगमा एकअर्काका कट्टर प्रतिस्पर्धी रहँदै आएका छन् । क्लब फुटबलमा पटक–पटक विवादमा तानिएका यी दुई खेलाडी अब विश्वकपको नकआउट चरणमा आमनेसामने हुनेछन् ।

यस खेलको विजेताले क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड वा मेक्सिकोसँग खेल्नेछ ।

पूर्व इङ्ग्ल्यान्ड स्ट्राइकर क्रिस सटनले बीबीसीसँग भने, “विश्वकपमा लियोनेल मेस्सी, किलियन एम्बाप्पे, ह्यारी केन र हालान्डबीच गोल्डेन बुटको प्रतिस्पर्धा चलिरहेको छ । तर व्यक्तिगत रूपमा सबैभन्दा ठूलो भिडन्त यही हुनेछ ।”

उनले थपे, “यी दुईबीच एकअर्काप्रति सम्मान त होला, तर उनीहरू एकअर्कालाई खासै मन पराउँदैनन् भन्ने कुरा उनीहरूको विगतका व्यवहारले स्पष्ट देखाएको छ ।”

पूर्व इङ्ग्ल्यान्ड कप्तान एलन शियरर पनि यो प्रतिस्पर्धाको प्रतीक्षामा छन् । उनी भन्छन्, “उनीहरूबीच निश्चित रूपमा तनाव छ । विपक्षीलाई मन पराउनु अनिवार्य हुँदैन । उनीहरूबीचको यो भिडन्त हेर्न लायक हुनेछ ।”

ब्राजिलले अहिलेसम्म नर्वेलाई हराउन सकेको छैन

खेलअघि अर्को रोचक तथ्य पनि सार्वजनिक भएको छ । पाँच पटकको विश्व विजेता ब्राजिलले अहिलेसम्म चार खेलमा नर्वेलाई हराउन सकेको छैन । दुई खेल बराबरीमा सकिएका छन् भने दुई खेल नर्वेले जितेको छ ।

यसले नर्वेलाई ब्राजिलले कहिल्यै पराजित गर्न नसकेको एकमात्र टोली बनाएको छ ।

हालान्ड–गाब्रिएलको विवाद कसरी सुरु भयो ?

यस प्रतिस्पर्धाको सुरुवात २२ सेप्टेम्बर २०२४ मा भएको प्रिमियर लिग खेलबाट भएको थियो । त्यो खेलमा आर्सनल १० खेलाडीमा सीमित हुँदै पनि म्यानचेस्टर सिटीविरुद्ध ऐतिहासिक जिततर्फ अग्रसर थियो । तर इन्जुरी समयको ९८औँ मिनेटमा जोन स्टोन्सले बराबरी गोल गरे ।

गोलपछि हालान्ड बल लिन जाँदा निराश भएर बसेका गाब्रिएलको टाउकोमा बल जोडले प्रहार गरेका थिए । त्यो घटनालाई गाब्रिएलले कहिल्यै बिर्सेनन् ।

खेलपछि हालान्डले आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई दुई पटक “स्टे हम्बल” (विनम्र बनिरह) भनेका थिए । यही भनाइ पछि सामाजिक सञ्जालमा निकै चर्चित बन्यो ।

त्यसबेला हालान्डले भनेका थिए, “मैदानमा जे हुन्छ, त्यहीँ रहन्छ । यो लडाइँ हो । फुटबलमा यस्ता उक्साहट सामान्य कुरा हुन् ।”

फेब्रुअरी २०२५ मा आर्सनलले म्यानचेस्टर सिटीलाई ५–१ ले पराजित गर्दा गाब्रिएलले गोल गरेपछि हालान्डको कानमै कराउँदै उत्सव मनाएका थिए ।

गाब्रिएलले पछि स्वीकार गरेका थिए, “उसले मेरो टाउकोमा बल हानेको थियो । त्यसकै बदला लिन मैले पनि उसलाई उक्साएँ ।”

अप्रिलमा म्यानचेस्टर सिटीले आर्सनललाई २–१ ले हराउँदा हालान्डले जितपछि टेलिभिजन क्यामेराअगाडि फ्लो रिडाको ‘गुड फिलिङ’ गीत गाएर उत्सव मनाएका थिए । त्यो खेलमा पनि तनाव उत्कर्षमा पुगेको थियो । गाब्रिएलले हालान्डलाई हेडबट गर्ने प्रयास गरेका थिए । दुवै खेलाडीले पहेँलो कार्ड पाए, तर गाब्रिएल रातो कार्डबाट जोगिए ।

मे महिनामा आर्सनलले २४ वर्षपछि प्रिमियर लिग उपाधि जितेपछि गाब्रिएलले ट्रफी बोकेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै हालान्डले प्रयोग गरेको त्यही ‘गुड फिलिङ’ गीत राखेर फेरि व्यंग्य गरेका थिए ।अब यही प्रतिस्पर्धाको अर्को अध्याय विश्वकपको नकआउट चरणमा लेखिनेछ ।

क्रिस सटन भन्छन्, “म विश्वस्त छु, खेलमा एक–दुई पटक तनावपूर्ण अवस्था आउनेछ ।” उनका अनुसार, “हालान्डले गाब्रिएललाई तान्ने, गाब्रिएलले प्रतिक्रिया दिने जस्ता क्षणमा रेफ्री अत्यन्त सतर्क हुनुपर्नेछ ।”

सटनले थपे, “नर्वेले आइभरी कोस्टलाई हराएर ब्राजिलसँग खेल्ने निश्चित भएपछि मेरो दिमागमा आएको पहिलो कुरा नै हालान्ड र गाब्रिएलको भिडन्त थियो । यही प्रतिस्पर्धाले खेलको नतिजामा ठूलो प्रभाव पार्न सक्छ ।”

क्लब फुटबलमा हालान्ड र गाब्रिएल ११ पटक आमनेसामने भएका छन् । हालान्डले ६ गोल गरेका छन् । म्यानचेस्टर सिटीले ५ खेल जितेको छ । आर्सनलले २ खेल जितेको छ । ४ खेल बराबरी भएका छन् ।

हालान्ड यस विश्वकपमा पनि उत्कृष्ट लयमा छन् । उनले ५ गोल गर्दै गोल्डेन बुटको दौडमा ह्यारी केनसँग बराबरी गरेका छन् । उनी फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेस्सीभन्दा दुई गोलले मात्र पछाडि छन् ।

उता गाब्रिएल प्रशिक्षक कार्लो आन्चेलोट्टीको नेतृत्वमा रहेको ब्राजिलको रक्षापंक्तिका मुख्य आधार हुन् ।

ब्राजिल कि नर्वे ?

क्रिस सटनको विश्वास छ कि हालान्ड र गाब्रिएलमध्ये जसले आफ्नो भूमिका राम्रोसँग निभाउँछ, त्यसै टोलीको जितको सम्भावना बढी हुनेछ ।

उनले भने, “नर्वेसँग हालान्ड मात्र होइन, सिर्जनात्मक मिडफिल्डर मार्टिन ओडेगार्ड पनि छन् । चोटका कारण उनको क्लब सिजन उत्कृष्ट रहेन, तर उनको गुणस्तरमाथि कुनै प्रश्न छैन ।” यद्यपि उनले ब्राजिललाई हल्का अग्रता दिएका छन् ।

“कार्लो एन्चेलोट्टी जस्ता अनुभवी प्रशिक्षक भएकाले ब्राजिललाई थोरै फाइदा छ । अहिलेको ब्राजिल पुरानो जस्तो आकर्षक फुटबल खेल्ने टोली होइन । उनीहरू धैर्यपूर्वक खेल्छन् र भिनिसियस जुनियर तथा रायानजस्ता प्रतिभाशाली खेलाडीको व्यक्तिगत क्षमतामा भर पर्छन् ।”

सटनले अन्त्यमा भने, “नर्वेले पनि ब्राजिललाई हराउन सक्छ । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ, र अन्ततः हालान्ड तथा गाब्रिएलबीचको व्यक्तिगत द्वन्द्वले नै विजेता तय गर्न सक्छ ।”