काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउन निर्वाचन प्रक्रियामा डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्ने निर्णय गरेको छ।
समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले महाधिवेशनलाई तोकिएको समयभित्र सम्पन्न गर्न पूर्व निर्वाचन समिति, पूर्व निर्वाचन अधिकृत तथा सरोकारवालाबाट अनुभव, राय र सुझाव लिँदै विभिन्न निर्णय गरेको हो।
बैठकले निर्वाचन प्रक्रियालाई पेपरलेस प्रणाली तथा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) प्रविधिमार्फत सञ्चालन गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाउने निर्णय गरेको जनाएको छ।
यस्तै, निर्वाचन प्रक्रिया सुरु भइसकेपछि निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रूपमा लागू हुने भएकाले विधानले अन्यथा व्यवस्था नगरेसम्म केन्द्रीय कार्यसमितिसहित सबै तह र निकायलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ।
निर्वाचन व्यवस्थापनलाई समावेशी बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा प्राथमिकता दिइने निर्णय गरिएको छ।
त्यसैगरी, निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेशागत समूहलाई सहभागी गराउन रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरियन्टेसन) प्रदान गरी आवश्यकताअनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
निर्वाचन समितिले यी निर्णयहरू जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसमक्ष पेश गर्ने जनाएको छ।

प्रतिक्रिया