कसरी फेरि विश्व फुटबलको शिखरतर्फ उक्लिँदै छ स्पेन ?

कसरी फेरि विश्व फुटबलको शिखरतर्फ उक्लिँदै छ स्पेन ?


काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टे अहिले विश्व फुटबलमा एउटा दुर्लभ उपलब्धिको संघारमा छन् ।

यदि स्पेनले यसपटक विश्वकप जित्यो भने उसले एकैसाथ विश्वकप र युरोपियन च्याम्पियनसिप (युरो) दुवै उपाधि आफ्नो नाममा राख्ने चौथो राष्ट्र बन्नेछ । यसअघि सन् १९७४ मा पश्चिम जर्मनी, २००० मा फ्रान्स र २०१० मा स्वयं स्पेनले मात्रै यस्तो सफलता हासिल गरेका थिए ।

सन् २०२३ को जनवरीमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका डे ला फुएन्टेले दुई वर्षअघि स्पेनलाई युरो च्याम्पियन बनाएका थिए । अहिले उनको नेतृत्वमा स्पेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ, जहाँ शुक्रबार बेल्जियमसँग उसको प्रतिस्पर्धा हुनेछ । विजेताले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

स्पेनको प्रशिक्षक बनेयता डे ला फुएन्टेले केवल तीन खेल मात्र हारेका छन् । पछिल्ला ३५ खेलमा स्पेन अपराजित छ ।

धेरै प्रशिक्षकले टोलीलाई रणनीतिका आधारमा बनाउँछन्, केहीले सम्बन्ध र विश्वासका आधारमा । डे ला फुएन्टेले भने यी दुवै पक्षलाई सन्तुलित रूपमा अघि बढाएका छन् ।

उनको फुटबल शैली बल आफ्नो नियन्त्रणमा राख्ने (पोजेसन फुटबल) भए पनि आवश्यकता अनुसार रणनीति परिवर्तन गर्न सक्ने लचकता राख्छ । तर उनको सबैभन्दा ठूलो विशेषता भने खेल शैलीभन्दा पनि टोलीभित्र निर्माण गरेको संस्कृतिमा देखिन्छ ।

स्पेनिस फुटबल महासंघमा सन् २०१३ देखि विभिन्न उमेर समूहका टोलीसँग काम गरेका उनले दशकौँदेखि खेलाडीहरूलाई तयार पार्दै आएका छन् । त्यसैले अहिलेको स्पेनमा एउटै पहिचान र एउटै सोच स्पष्ट रूपमा देखिन्छ ।

६५ वर्षीय डे ला फुएन्टेको विश्वास सरल छ — फुटबल व्यक्तिगत खेल होइन, राम्रो मानिसहरूले बनाएको टोलीगत खेल हो । उनका लागि ‘राम्रो’ भन्नाले नैतिक रूपमा मात्र होइन, टोलीका लागि त्याग गर्न सक्ने, अनुशासित, सहयोगी र निःस्वार्थ खेलाडीलाई बुझिन्छ ।

बेल्जियमविरुद्धको खेलअघि उनले भनेका थिए, “लकर रुममा बसेका मानिसलाई थाहा हुन्छ, राम्रो मानिस हुनुको अर्थ के हो । हरेक टोलीमा कहिलेकाहीँ वातावरण बिगार्ने, आफूलाई मात्र ठूलो ठान्ने खेलाडी पनि हुन्छन् ।”

उनको बुझाइमा प्रतिभा मात्र पर्याप्त हुँदैन, टोलीप्रतिको समर्पण झन् महत्वपूर्ण हुन्छ ।

विश्वकपमा बाँकी रहेका सबै टोलीसँग आफ्नो स्पष्ट खेल दर्शन छ । राष्ट्रिय टोलीमा क्लबजस्तो लामो तयारीको समय नहुने भएकाले खेल शैली सरल र स्पष्ट हुनुपर्छ ।

स्पेनसँग भने दशकौँदेखि विकसित एउटै फुटबल दर्शन छ । खेलाडी र प्रशिक्षक पनि त्यही दर्शनअनुसार चयन गरिन्छन् ।

पेप ग्वार्डिओलाले एकपटक योहान क्रुइफबारे भनेजस्तै, डे ला फुएन्टेले पनि “मन्दिर बनाएका होइनन्, बनेको मन्दिरलाई समय–समयमा रंगरोगन मात्रै गरेका हुन् ।”

उनले स्पेनको खेलमा थप विविधता, गति, रक्षात्मक सन्तुलन र आक्रमणमा अप्रत्याशितपन थपेका छन् ।

पोर्चुगलका एक प्रशिक्षकले स्पेनलाई “विश्लेषण गर्न सबैभन्दा सजिलो, तर हराउन सबैभन्दा कठिन टोली” भनेका थिए ।

डे ला फुएन्टेले धेरै खेलाडीलाई किशोर अवस्थादेखि नै प्रशिक्षण दिएका छन् । त्यसैले उनीहरूको क्षमता र कमजोरी दुवै राम्ररी बुझ्छन् । केप भर्डेविरुद्ध पासिङ कमजोर हुँदा सुधार गरे । साउदी अरेबियाविरुद्ध टोली फेरि लयमा फर्कियो ।

उरुग्वेविरुद्ध भने उनले विशेष रूपमा खेलाडीलाई भावनामा नबग्न निर्देशन दिए । इतिहासमा स्पेन उक्साहट र तनावपूर्ण खेलमा आफ्नै लय गुमाएर हार्ने गरेको अनुभव उनले सम्झिए ।

उनी भन्छन्, “पहिले म पनि भावनात्मक प्रतिक्रिया दिन्थें । अनुभवले सिकायो कि यस्ता खेल जित्न धैर्य चाहिन्छ । विपक्षीले तपाईंको लय बिगार्न खोज्छ । त्यही बेला आफ्नो पहिचान जोगाउनुपर्छ ।” उनको बुझाइमा स्पेनले आफ्नो खेल शैली छाड्नेबित्तिकै हार्न थाल्छ ।

लामिन यामाललाई कसरी सम्हालिरहेका छन् ?

स्पेनका युवा स्टार लामिन यामाल अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन् । विश्वकपअघि दुई महिना घाइते रहेका उनी पूर्ण फिट थिएनन् । त्यसैले डे ला फुएन्टेले उनलाई हतार नगरी विस्तारै तयार पारे ।

उनले भने, “हामीलाई थाहा थियो, यामाल कहाँबाट फर्किरहेका छन् । अहिलेको चरणका लागि नै हामीले उनलाई तयार गरेका थियौँ । अब यही उनको विश्वकप बन्ने समय हो ।”

तर डे ला फुएन्टेका अनुसार महान खेलाडी बन्न गोल मात्र पर्याप्त हुँदैन । पोर्चुगलविरुद्धको खेललाई उनले यामालको करियरकै सबैभन्दा महत्वपूर्ण खेल भनेका छन् ।

कारण, त्यो खेलमा उनले बलसँग मात्र होइन, बलबिनाको अवस्थामा पनि टोलीका लागि अथक मेहनत गरेका थिए ।

डे ला फुएन्टे भन्छन्, “अहिले उनको १० गोल गर्ने समय होइन । निर्णायक खेलमा निर्णायक बन्ने समय हो । राम्रो टोलीबिना व्यक्तिगत प्रतिभाले मात्र सफलता दिँदैन ।”

मिकल ओयारजाबललाई पनि डे ला फुएन्टे विश्वका उत्कृष्ट पाँच सेन्टर फरवार्डमध्ये एक मान्छन् । उनका अनुसार फरक परिस्थितिमा हुन्थे भने ओयारजाबल विश्वभर धेरै पहिले नै सुपरस्टारको रूपमा चिनिन्थे ।

डे ला फुएन्टे आफ्नै जीवनमा पनि अनुशासन र निरन्तरताको उदाहरण हुन् । उनी अहिले पनि नियमित व्यायाम गर्छन् ।

उनी भन्छन्, “यो मेरो जीवनशैली हो । मलाई सधैं अनुशासित र निरन्तर रहन सिकाइएको छ । साथीहरू भन्थे—म धेरै जिद्दी छु । कुनै लक्ष्य बनाएपछि म त्यसैमा लागिरहन्छु ।”