कर्णाली नदीमा बेपत्ताको १० दिनपछि गाडी चालकको शव भेटियो

कर्णाली नदीमा बेपत्ताको १० दिनपछि गाडी चालकको शव भेटियो


काठमाडौं । असार १८ गते दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालकको शव दुर्घटनाको १० दिनपछि फेला परेको छ।

प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शव दुर्घटनामा बेपत्ता भएका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–माझीगाउँ निवासी तुलाराम सुवेदीको रहेको पुष्टि भएको हो।

यसअघि सोही दुर्घटनामा परेका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवाको शव पनि फेला परिसकेको थियो।

दुर्घटनामा परेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडीमा चालक तुलाराम सुवेदी, मेखे तिरुवा, रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का तथा सहचालक रामप्रसाद सुवेदी सवार थिए। हाल सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको उक्त ट्रक दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा सडकबाट कर्णाली नदीमा खसेपछि यात्रुसहित बेपत्ता भएको थियो। त्यसयता नेपाल प्रहरी र अन्य सुरक्षा निकायले खोजी कार्य जारी राखेका छन्।