ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी


काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् ।

परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरे ।

परिषद्‌को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भए । महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भए । उनका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे ।

कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको निर्वाचन अधिकृत पङ्गेनीले बताए ।

यस्तै, सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् ।

आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।