चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोसँगै ढुंगासहितको लेदो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्री ले सोमबार साँझ करिब साढे ७ बजे सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
उनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला क्षेत्रमा ढुंगा झरिरहेको छ भने सेती दोभानमा माथिबाट लेदो बगेपछि सडक अवरुद्ध बनेको हो। यसका कारण दुवैतर्फ सवारीसाधन सञ्चालन रोकिएको छ। क्षेत्रीले निरन्तर भइरहेको ठूलो वर्षाका कारण पहिरो हटाउने कार्यमा समेत कठिनाइ भइरहेको बताए। वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम कायम रहेको र सडक खुलाउने काम चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
सडक अवरुद्ध भएपछि यात्रामा रहेका सवारीसाधनहरू विभिन्न स्थानमा रोकिएका छन्। सडक डिभिजन कार्यालयले यात्रु तथा चालकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक जोखिम नलिन आग्रह गरेको छ। “सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ,” क्षेत्रीले भने, “निरन्तर वर्षा भइरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।”
नारायणगढ–मुग्लिन सडक देशकै अत्यन्त व्यस्त राजमार्गमध्ये एक हो। पहिरोका कारण सडक बन्द हुँदा काठमाडौं, पोखरा तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन्। सम्बन्धित निकायले मौसममा सुधार आएलगत्तै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया