काठमाडौं । प्रतिनिधिसभामा उठिरहेको विवादका बीच प्रधानमन्त्री बालेन शाह बैठकमा केही समय उपस्थित भएर बाहिरिएका छन् ।
उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि बैठकबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री शाह दिउँसो करिब १:३७ बजे संसद् बैठकमा प्रवेश गरेका थिए । करिब २० मिनेट सदनमा बसेपछि उनी बाहिरिएका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ मागिरहेका बेला उनको संसद् उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । प्रधानमन्त्रीले सदनमै उठेका प्रश्नको उत्तर दिने अपेक्षा गरिए पनि उनी बोल्नुअघि नै बाहिरिएपछि विपक्षीको प्रतीक्षा भने कायम रहेको छ ।
विवादको केन्द्रमा प्रधानमन्त्रीले जेठ १७ गते सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति छ । त्यसबेला उनले भारतले नेपालको भूमि मिचेको बताएका थिए । विपक्षी दलहरूले उक्त दाबीको प्रमाण संसद्मा पेस गर्न वा पुष्टि गर्न नसके माफी माग्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया