काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै काठमाडौंको तार्केश्वर–धर्मस्थली क्षेत्रका किसानहरूले बुधबार माइतीघर मण्डलामा गोलभेडा सडकमा छरेर विरोध प्रदर्शन गरेका छन् ।
कृषि उत्पादनले लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको भन्दै उनीहरूले सरकारसँग तत्काल प्रभावकारी हस्तक्षेपको माग गरेका हुन् ।
‘हरियो क्रान्ति’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका किसानहरूले कृषि क्षेत्रलाई संरक्षण गर्ने नीतिको माग गर्दै विभिन्न नाराबाजी गरेका थिए । उनीहरूको भनाइमा उत्पादन बढे पनि बजार व्यवस्थापनको अभाव, बिचौलियाको चलखेल र मूल्य अस्थिरताका कारण किसानले निरन्तर घाटा बेहोर्नुपरेको छ ।
प्रदर्शनका क्रममा किसानहरूले आफूले मेहनत र लगानी गरेर उत्पादन गरेका गोलभेडा सडकमै फाल्दै कृषि उत्पादनको सम्मानजनक मूल्य सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले उचित मूल्य नपाउँदा खेतको पसिना सडकमा बगाउन बाध्य भएको गुनासो गरे ।
किसानहरूको मुख्य मागमा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनको सुनिश्चित बजार, सहुलियतपूर्ण कृषि ऋण, समयमै मल–बिउ उपलब्ध गराउने व्यवस्था, प्रभावकारी कृषि बीमा तथा बिचौलियाको नियन्त्रण रहेका छन् ।


प्रतिक्रिया