बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली रुपैयाँ तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–११ निवासी ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका–१ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, सिलिगुडी भक्तिनगर थाना निवासी ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।
प्रहरीले उनीहरूको डेरा तथा पसलमा खानतलासी गर्दा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट (कुल ६ लाख २२ हजार रुपैयाँ बराबर), फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल बरामद गरेको जनाएको छ ।
पक्राउ परेकामाथि मुद्रा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया