केन्द्रको निर्देशनपछि कोशीको सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी

केन्द्रको निर्देशनपछि कोशीको सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी


विराटनगर । नेपाली कांग्रेसले केन्द्रमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। केन्द्रबाट सरकारबाट बाहिरिन निर्देशन आएपछि नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय कार्यदलको बैठक विराटनगरमा सुरु भएको छ।

कोशी प्रदेश सभापति तथा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, कांग्रेसका सहमहामन्त्री उमेश थापा, सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायतका नेताहरू सहभागी छन्। बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, केन्द्रको निर्णयको प्रभाव तथा प्रदेश सरकारमा कांग्रेसको आगामी भूमिकाबारे गहन छलफल भइरहेको छ। विशेषगरी केन्द्रको निर्देशन कार्यान्वयन गर्दै कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा बैठकले निर्णय गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्। कार्यदलका सदस्यसमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने बैठकमा अनुपस्थित रहेका छन्। उनको अनुपस्थितिबारे भने औपचारिक रूपमा कुनै जानकारी दिइएको छैन।

केन्द्रमा कांग्रेस–एमाले गठबन्धन टुटेपछि प्रदेश सरकारहरूको समीकरणमा पनि परिवर्तन आउने संकेत देखिएको छ। कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएमा प्रदेश सरकारको शक्ति सन्तुलनमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ। बैठकको निर्णय सार्वजनिक भएपछि प्रदेश सरकारको आगामी राजनीतिक दिशा थप स्पष्ट हुने विश्वास गरिएको छ।