काठमाडौं । अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप फाइनलअघि १७ वर्षअघिको एउटा दुर्लभ तस्बिर फेरि चर्चामा आएको छ। उक्त तस्बिरमा फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले आफ्नो काखमा बोकेको बालक आज स्पेनका युवा स्टार लामिन यामल भएको खुलासा भएपछि विश्वभर यो तस्बिर भाइरल बनेको हो।
यो तस्बिर सन् २००७ मा बार्सिलोनास्थित फोटोग्राफर जोन मोनफोर्टले युनिसेफ र एफसी बार्सिलोनाको संयुक्त सामाजिक अभियानका क्रममा खिचेका थिए। अभियानअन्तर्गत क्लबका खेलाडीहरूलाई स्थानीय परिवारका शिशुसँग फोटोसुट गराइएको थियो। त्यही क्रममा तत्कालीन २० वर्षीय मेस्सीले केही महिनाका बालक यामललाई काखमा लिएर बाथटबमा नुहाउँदै गरेको दृश्य कैद गरिएको थियो। यामलकी आमा पनि सो फोटोसुटमा सहभागी थिइन्। यो तस्बिर हालै यामलका बुवाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेपछि विश्वभर चर्चा चुलिएको हो। उनले तस्बिरसँगै ८८‘दुई महापुरुषको सुरुवात’८८ भन्ने क्याप्सन लेखेका थिए।
फोटोग्राफर मोनफोर्टले सीएनएनसँग कुरा गर्दै आफूलाई त्यो बेला मेस्सीको काखमा रहेको बच्चा भविष्यमा विश्व फुटबलकै चर्चित खेलाडी बन्नेछ भन्ने कल्पनासमेत नभएको बताए। उनले अहिले त्यो तस्बिरलाई अर्बौंमध्ये एकू क्षणको रूपमा व्याख्या गर्दै त्यसमा गर्व महसुस गरेको बताए।

यामल अहिले विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक मानिन्छन्। फ्रान्सविरुद्धको विश्वकप सेमिफाइनलमा उनले कीर्तिमानी गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि युरो २०२४ मा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो विशेष पहिचान बनाएका थिए।
यामल बार्सिलोना नजिकैको मातारो नगरको रोकाफोन्डा क्षेत्रमा हुर्किएका हुन्। उनी पनि मेस्सीझैं बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाट उदाएका खेलाडी हुन्। १५ वर्षको उमेरमै बार्सिलोनाको सिनियर टोलीबाट डेब्यू गर्दै उनले क्लबको इतिहासमा सबैभन्दा कान्छा खेलाडीमध्ये एक बन्ने कीर्तिमान बनाएका थिए।
मोनफोर्टका अनुसार उनले केही दिनअघि मात्र आफूले १७ वर्षअघि फोटो खिचेको शिशु नै अहिलेका स्टार यामल भएको थाहा पाएका हुन्। त्यसयता उक्त तस्बिर विश्वभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ।
विश्वकप फाइनलअघि मेस्सी र यामललाई एउटै फ्रेममा देखाउने यो दुर्लभ तस्बिरले फुटबल समर्थकमाझ विशेष उत्साह र भावनात्मक चर्चा सिर्जना गरेको छ।


प्रतिक्रिया