काठमाडौं । विशेष अदालतले घुस लिएको भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार व्यवसायी दीपक आनन्दसँग घुस लिएको आरोपमा पौडेललाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय तोकेको हो ।
पौडेलले भ्रष्टाचार भएको समयमा नेपाल सरकारको विशिष्ट तहअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कसुर गरेको भन्दै अदालतले उनलाई थप ६ महिना कैद पनि सुनाएको छ ।
उक्त मुद्दामा घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि आठ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिवादीविरुद्ध ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो । अदालतले कसुर ठहर गरे पनि आरोपित घुस रकम बरामद नभएको, उक्त रकम कहाँ राखिएको वा कुन बैंकमा जम्मा गरिएको भन्ने प्रमाण नदेखिएको उल्लेख गर्दै विगो कायम नगर्ने निर्णय गरेको छ ।
यद्यपि मुद्दाको प्रकृति, प्रतिवादीहरूको भूमिका तथा घुस लिएको भनिएको ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँलाई आधार मानेर दामासाही हिसाबले दुवै जनालाई जनही एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना तोकिएको हो ।
यस्तै, अदालतले दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ पीडित संरक्षण कोषमा जम्मा गराउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया