कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपाले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि बुधबार कांग्रेस कर्णाली सरकारबाट बाहिरिएको थियो । कांग्रेसले सरकार छोडेसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेका बेला बिहीबार अविश्वास प्रस्तावसेमत दर्ता भएको हो ।

४० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपाका १४–१४ गरी २८ सदस्य छन् । एमालेको मात्र १० सिट छ । राप्रपा र स्वतन्त्रको एक एक सिट छ । कांग्रेस र नेकपाबीच सहकार्य भए सरकार गठनका लागि सहजै बहुमत पुग्छ ।

यसअघि कांग्रेस केन्द्रले एमालेसँगको सातै प्रदेशको गठबन्धन तोडेर नयाँ गठबन्धनका लागि सबै विकल्प खुला राख्ने विकल्प लिएको थियो । त्यसपछि सातै प्रदेश सरकार संकटमा छन् । सातमध्ये हाल कांग्रेस नेतृत्वमा ४ र एमाले नेतृत्वमा ३ प्रदेश सरकार छन् । एमाले नेतृत्वका तीनैवटा सरकार संकटमा छन् भने नेकपासँग गठबन्धन हुन नसके कांग्रेस नेतृत्वका सरकार पनि संकटमा पर्नेछन् । कांग्रेसले प्रदेशमा सत्ता गठबन्धनका लागि नेकपासँग वार्ता गरिरहेको छ ।