कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित साहविरुद्ध कुटपिट घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार साहविरुद्ध जाहेरी दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको छ । हाल उनी फरार रहेको भन्दै प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)माथि भएको सामूहिक आक्रमणमा सांसद साह संलग्न रहेको आरोप लागेपछि चौतर्फी दबाबबीच प्रहरीले मुद्दा दर्ता गरेको हो ।

पीडित शर्माको उजुरीमा सांसद साह, कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साहसहित १५–२० जनाको समूहले आफ्नै निवासमा प्रवेश गरी कुटपिट गरेको उल्लेख छ । घटनापछि प्रहरीले जाहेरी दर्तामा ढिलाइ गरेको भन्दै शर्माले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए ।