सेमिफाइनलपछि जुड बेलिङघमले अर्जेन्टिनी खेलाडीलाई थप्पड हानेको आरोप

सेमिफाइनलपछि जुड बेलिङघमले अर्जेन्टिनी खेलाडीलाई थप्पड हानेको आरोप


काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्ड अर्जेन्टिनासँग २–१ ले पराजित हुँदै बाहिरिएपछि इंग्लिस स्टार जुड बेलिङघम विवादमा तानिएका छन्। अर्जेन्टिनाले जितसँगै फाइनल यात्रा तय गरेपछि भएको खुसीयालीका क्रममा रियल म्याड्रिडका मिडफिल्डर बेलिङघमले अर्जेन्टिनी डिफेन्डर भ्यालेन्टिन बार्कोको टाउकोमा पछाडिबाट थप्पड हानेको आरोप लागेको छ।

बिबीसी रेडियोका पूर्व इंग्ल्यान्ड गोलकिपर पल रोबिन्सनका अनुसार अर्जेन्टिनाले निर्णायक गोल गरेपछि मैदानबाहिर रहेका बार्को इंग्ल्यान्डको बेन्चअगाडि पुगेर जिस्क्याउने शैलीमा खुसीयाली मनाएका थिए। त्यसपछि आक्रोशित बनेका बेलिङघमले उनीमाथि हात उठाएको बताइएको छ।
रोबिन्सनले उक्त घटनालाई ‘यस विश्वकपमा देखिएको भावनात्मक नियन्त्रण गुमाएको सबैभन्दा खराब उदाहरण’को संज्ञा दिएका छन्। घटनापछि मैदानमा दुवै टोलीका खेलाडीबीच तनाव चुलिएको थियो। धकेलाधकेलको अवस्था सिर्जना भएपछि इंग्ल्यान्डका मोर्गन रोजर्सलाई अन्य खेलाडीले तानेर विवादबाट बाहिर निकालेका थिए।

बेलिङघमले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतियोगिताभर ६ गोल गर्दै टोलीका सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एकको रूपमा आफूलाई स्थापित गरेका थिए। यद्यपि, अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा भने उनी प्रभाव जमाउन सकेनन्। खेलकै क्रममा अर्जेन्टिनाका कप्तान लिओनल मेसीसँग उनको भनाभन भएको दृश्य पनि सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। इंग्ल्यान्डले अब शनिबार मियामीमा तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यता अर्जेन्टिना भने आइतबार हुने फाइनलमा स्पेनसँग उपाधिका लागि भिड्नेछ।