देउवाको हात भाँचिएको छैन – सचिवालय

देउवाको हात भाँचिएको छैन – सचिवालय


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लडेर हात भाँचिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको उनको सचिवालयले जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही माध्यमबाट देउवाको स्वास्थ्य अवस्थासम्बन्धी गलत सूचना फैलाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयका अनुसार देउवा लडेको वा हात भाँचिएको भन्ने दाबी पूर्ण रूपमा असत्य र भ्रामक हो ।

विज्ञप्तिमा देउवा सामान्य अवस्थामा रहेको उल्लेख गर्दै आधारहीन सूचना सार्वजनिक वा प्रसारण नगर्न सबैसँग आग्रह गरिएको छ । आधिकारिक पुष्टि नै नगरी यस्ता हल्ला फैलाउँदा सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना हुने सचिवालयको भनाइ छ ।

‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा ‘आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ’ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिवालयले भनेको छ, ‘सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि आधिकारिक पुष्टिबिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो ।’

पछिल्लो समय देउवा हङकङमा बस्दै आएका छन् । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए ।