गुरु र शिष्यबीच विश्वकप उपाधि भिडन्त

गुरु र शिष्यबीच विश्वकप उपाधि भिडन्त


काठमाडौं । सन् २०२६ फिफा विश्वकपको फाइनल केवल स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्त मात्र होइन, यो एउटा भावनात्मक कथा पनि हो ।

एकातिर युरोपियन च्याम्पियन स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे छन् भने अर्कोतर्फ विश्व तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी । फाइनलमा यी दुईबीच गुरु र शिष्यको सम्बन्ध प्रतिस्पर्धामा रूपान्तरण हुनेछ ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो भने अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध अन्तिम समयमा दुई गोल फर्काएर २–१ को रोमाञ्चक जित निकालेको थियो । यससँगै विश्व फुटबलले वर्षौंदेखि प्रतीक्षा गरेको अर्को ऐतिहासिक फाइनल पाएको छ — युरोपियन च्याम्पियन स्पेनविरुद्ध विश्व तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना ।

स्पेनले २०१० पछि दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने अवसरको खोजीमा छ ।

यो फाइनलको सबैभन्दा रोचक पक्ष भने डे ला फुएन्टे र स्कालोनीबीचको पुरानो सम्बन्ध हो ।

सन् २०१७ मा खेल जिवनबाट सन्यास लिएको दुई वर्षपछि स्कालोनी स्पेनको फुटबल महासंघ (आरएफईएफ) को लास रोजासस्थित प्रशिक्षण केन्द्रमा व्यावसायिक प्रशिक्षक (प्रो लाइसेन्स) कोर्स गरिरहेका थिए । त्यहीँ उनका प्रशिक्षक थिए — लुइस डे ला फुएन्टे ।

त्यतिबेला डे ला फुएन्टे स्पेनका उमेर समूहका टोलीहरूको जिम्मेवारी सम्हालिरहेका थिए र नयाँ प्रशिक्षक बन्ने तयारीमा रहेका स्कालोनीलाई मार्गदर्शन गर्ने प्रमुख प्रशिक्षकमध्ये एक थिए । त्यसबेला कसैले कल्पना पनि गरेका थिएनन् कि त्यही कक्षाकोठामा सुरु भएको गुरु–शिष्य सम्बन्ध एक दिन विश्वकप फाइनलसम्म पुग्नेछ ।

डे ला फुएन्टेले फ्रान्समाथि जितपछि अर्जेन्टिनासँग फाइनल खेल्न पाउँदा आफू “खुसी हुने” बताएका थिए । उनले त्यसो भन्नुको कारण अर्जेन्टिनालाई कमजोर प्रतिद्वन्द्वी ठान्नु थिएन, बरु स्कालोनीसँगको मित्रता र सम्मान थियो ।

स्कालोनीले पनि सन् २०२४ को कोपा अमेरिका तथा युरोपियन च्याम्पियनसिपका क्रममा डे ला फुएन्टेको खुलेर प्रशंसा गरेका थिए ।

“लास रोजासमा प्रशिक्षक कोर्स गर्ने हामी सबैका लागि लुइसले ठूलो सहयोग गर्नुभएको थियो । उहाँसँग धेरै पटक कुराकानी गर्ने अवसर पाएको छु । उहाँको सफलताको कामना गर्छु,” स्कालोनीले भनेका थिए ।

उनले थपेका थिए, “स्पेनले राम्रो गरोस् भन्ने मेरो चाहना छ । उहाँले हामीलाई धेरै कुरा सिकाउनुभयो । टोलीलाई कसरी व्यवस्थापन गर्ने र खेलाडीहरूलाई कसरी प्रेरित गर्ने भन्ने उहाँको शैली मलाई निकै मनपर्छ ।”

डे ला फुएन्टेले पनि स्कालोनीलाई आफ्ना उत्कृष्ट विद्यार्थीमध्ये एक मान्ने गरेका छन् । उनले भनेका छन्, “लियोनेलप्रति मेरो ठूलो सम्मान छ । उनले अर्जेन्टिनासँग सबै प्रमुख उपाधि जितिसकेका छन् । उनका धेरै विचारसँग म सहमत छु । व्यावसायिक र व्यक्तिगत दुवै रूपमा म उनको प्रशंसा गर्छु ।”

उनका अनुसार स्कालोनी अत्यन्त मेहनती, जिज्ञासु र सिक्न उत्सुक विद्यार्थी थिए । उनी भन्छन्, “उहाँमा निरन्तर अघि बढ्ने दृढ इच्छा देखिन्थ्यो । उहाँको शिक्षक बन्न पाउनु मेरो लागि सम्मानको कुरा हो । तर त्योभन्दा ठूलो कुरा, आज उहाँ मेरो असल मित्र हुनुहुन्छ ।”

स्कालोनीको स्पेनसँगको सम्बन्ध प्रशिक्षक कोर्समा मात्र सीमित छैन । उनकी पत्नी एलिसा मोन्टेरो स्पेनी हुन् । उनीहरूका दुई सन्तान पनि स्पेनमै जन्मिएका हुन् र परिवार अहिले मयोर्कामा बस्दै आएको छ ।

स्कालोनीले खेलाडी जीवनमा पनि स्पेनका डिपोर्टिभो ला कोरुन्या, रेसिङ सान्टान्देर र मयोर्काबाट व्यावसायिक फुटबल खेलेका थिए ।

सन् २०२४ को युरोपियन च्याम्पियनसिपका क्रममा उनले भनेका थिए, “मेरो परिवारको ठूलो हिस्सा स्पेनी भएकाले स्वाभाविक रूपमा म स्पेनको समर्थन गरिरहेको छु ।”

स्पेन फाइनल पुगेपछि र अर्जेन्टिनाको सेमिफाइनलअघि स्कालोनीले डे ला फुएन्टेबारे भनेका थिए, “म उहाँका लागि खुसी छु । उहाँ त्यसका पूर्ण हकदार हुनुहुन्छ । उहाँ उत्कृष्ट व्यक्ति हुनुहुन्छ । उहाँको टोलीमा देखिने सबै कुरा हामी पनि आफ्ना खेलाडीमा देख्न चाहन्छौं ।”

उनले हाँस्दै थपेका थिए, “यदि हामी फाइनलमा पुगेनौं भने उहाँलाई फोन गर्छु । तर यदि फाइनलमा उहाँसँगै खेल्नुपर्‍यो भने? त्यसो भए फाइनलअघि कुनै फोन हुँदैन ।”

अब त्यो अवस्था वास्तवमै आएको छ ।

इंग्ल्यान्डमाथि २–१ को सेमिफाइनल जितपछि स्कालोनीले फेरि आफ्ना पूर्वगुरुको चर्चा गर्दै भने, “उहाँ मेरा मार्गदर्शक हुनुहुन्थ्यो । उहाँले मलाई प्रशिक्षक बन्न आवश्यक धेरै कुरा सिकाउनुभयो । अहिले विश्वकप फाइनलमा उहाँविरुद्ध उत्रिनु विशेष अनुभव हो ।”

कतार विश्वकपपछि प्रशिक्षकहरूको सम्मेलनमा डे ला फुएन्टेसँग लामो छलफल भएको स्मरण गर्दै उनले भने, “उहाँले स्पेनसँग उत्कृष्ट काम गर्नुभएको छ । उहाँका लागि म निकै खुसी छु ।”

तर, फाइनलमा भने भावनाले स्थान पाउने छैन ।

“सबैलाई थाहा छ म स्पेनमा बस्छु र मेरो परिवार पनि स्पेनी छ । तर त्यसका लागि म क्षमाप्रार्थी छु—किनकि आइतबार म डे ला फुएन्टेलाई हराउने प्रयास गर्नेछु,” स्कालोनीले स्पष्ट पारे ।

यसको जवाफमा डे ला फुएन्टेले भने, “स्कालोनीप्रति मेरो अत्यन्त सम्मान छ । उनी मेरा उत्कृष्ट विद्यार्थीमध्ये एक थिए । आज पनि हामीबीच राम्रो मित्रता र आपसी सम्मान कायम छ ।”

न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनलमा गुरु र शिष्य पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने हुनेछन् । अब कक्षाकोठामा सिकाइएका पाठभन्दा मैदानमा देखिने रणनीति निर्णायक बन्नेछ ।