सोनम वाङ्चुकले अनशन तोड्न गरे अस्वीकार

सोनम वाङ्चुकले अनशन तोड्न गरे अस्वीकार


एजेन्सी । भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार बिहान दिल्लीको जन्तर–मन्तरस्थित आन्दोलनस्थलबाट हटाएर सफदरजंग अस्पताल भर्ना गरिएको छ। उनी नीट (NEET) परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा २१ दिनदेखि आमरण अनशनमा बसेका छन्।

सफदरजंग अस्पतालले शनिबार दिउँसो सार्वजनिक गरेको स्वास्थ्य बुलेटिनमा वाङ्चुकले ड्रिप (सलाइन) वा मुखबाट कुनै पनि प्रकारको तरल पदार्थ लिन अस्वीकार गरेको जनाएको छ। अस्पतालका अनुसार उनको नाडी, रक्तचाप र अक्सिजन स्याचुरेसन सामान्य अवस्थामा रहे पनि शरीरमा पानीको कमी (डिहाइड्रेसन) देखिएको छ। स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निरन्तर निगरानी र आवश्यक परामर्श भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालकी चिकित्सक डा. चारु बम्बाका अनुसार लामो समयदेखि उपवास बसेका कारण वाङ्चुकमा सामान्य कमजोरी र शरीरमा पानीको कमी देखिएको हो। उनी पूर्ण रूपमा सचेत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। शरीरमा पानीको कमीका कारण इलेक्ट्रोलाइटको स्तरमा असर देखिएकाले केही समय अस्पतालमै निगरानीमा राखिने बताइएको छ।

यता वाङ्चुककी श्रीमती गीताञ्जली जे आङ्मोले आफ्नो सहमतिबिना मुख वा नसामार्फत कुनै पनि औषधि वा तरल पदार्थ नदिन अस्पतालसँग आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू, परिवार र विगत २० दिनदेखि वाङ्चुकको स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकहरूको सहमतिबिना कुनै उपचार प्रक्रिया अघि नबढाउन अनुरोध गरेकी हुन्।

गीताञ्जलीका अनुसार वाङ्चुकको शरीरमा पोटासियमको मात्रा ४.३ बाट घटेर २.९ मा पुगेको छ, जसले उनको ज्यानमा जोखिम उत्पन्न गर्न सक्ने चिकित्सकहरूले बताएका छन्। उनले वाङ्चुकलाई आफू वा परिवारलाई जानकारी नदिई आन्दोलनस्थलबाट अस्पताल लगिएको आरोप पनि लगाएकी छन्।

उनले २० जुलाईका लागि तय गरिएको ‘चलो संसद’ मार्च पूर्वनिर्धारित कार्यक्रमअनुसार हुने बताउँदै वाङ्चुक सहभागी हुन नसके आफूले मार्चको नेतृत्व गर्ने घोषणा गरेकी छन्।

यसैबीच आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्नो संस्थापक अभिजित दीपके आमरण अनशनमा बस्ने घोषणा गरेको छ। दीपकेले आफू केही समयका लागि आन्दोलनस्थलबाट बाहिर गएको बेला प्रहरीले वाङ्चुकलाई बलपूर्वक हटाएको र आफूलाई समेत कुटपिट गरेको आरोप लगाएका छन्।

यद्यपि नयाँ दिल्ली प्रहरीले भने दिल्ली उच्च अदालतको आदेश तथा विशेषज्ञ चिकित्सकहरूको सल्लाहका आधारमा वाङ्चुकको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पताल लगाइएको जनाएको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा केही प्रदर्शनकारीले अवरोध गरेकाले सामान्य अफरातफरी भएको भए पनि प्रहरीले संयमता अपनाएको प्रहरीको भनाइ छ।

यसअघि दिल्ली उच्च अदालतले वाङ्चुकको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राख्न सरकारलाई निर्देशन दिएको थियो। चिकित्सकहरूको सल्लाहअनुसार आवश्यक परे अस्पतालमा भर्ना गर्न सकिने अदालतको आदेश थियो।

अनशन सुरु गरेयता वाङ्चुकको तौल ९ किलोग्रामभन्दा बढी घटिसकेको चिकित्सकहरूले बताएका छन्। शरीरका महत्त्वपूर्ण अङ्गमा क्षति पुग्ने जोखिम बढ्न सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

घटनापछि भारतका विपक्षी दलका नेताहरूले सरकारको कदमको आलोचना गरेका छन्। आम आदमी पार्टीका सांसद सञ्जय सिंहले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको आरोप लगाएका छन् भने समाजवादी पार्टीकी सांसद डिम्पल यादवले वाङ्चुकलाई जबर्जस्ती अस्पताल लैजानु लोकतान्त्रिक अधिकारमाथिको प्रहार भएको टिप्पणी गरेकी छन्।

वाङ्चुक गत जुन २८ देखि आन्दोलनमा सहभागी हुँदै आमरण अनशनमा छन्। आन्दोलनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, नीट परीक्षामा भएको भनिएको अनियमितताको न्यायिक छानबिन तथा परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै आएका छन्।