१० वर्षअघि आँसु बगाएको मैदानमा आज इतिहास रच्ने लक्ष्यमा मेसी

१० वर्षअघि आँसु बगाएको मैदानमा आज इतिहास रच्ने लक्ष्यमा मेसी


काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी १० वर्षअघि आफ्नो फुटबल करिअरकै सबैभन्दा पीडादायी क्षण भोगेको मैदानमा फेरि उत्रिँदै छन्। तर यसपटक उनको लक्ष्य विगतको निराशालाई विजयमा बदल्दै विश्वकप ट्रफी उचाल्नु हो।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आज मध्यराति हुने फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाले स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। मेसीका लागि यो खेल केवल अर्को फाइनल मात्र होइन, दशकअघिको घाउलाई सफलतामा रूपान्तरण गर्ने अवसर पनि हो।

यही मैदानमा सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियो फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। त्यस खेलमा मेसीले आफ्नो पेनाल्टी प्रहार गोल गर्न नसकेपछि चिली लगातार दोस्रो पटक कोपा अमेरिका च्याम्पियन बनेको थियो।

त्यस पराजयपछि प्रतिस्थापन बेन्चमा बसेर मेसी अनियन्त्रित रूपमा रोएको दृश्य विश्वभर चर्चित बनेको थियो। खेलपछि उनले भावुक हुँदै राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए। “राष्ट्रिय टोलीसँग मेरो यात्रा यहीँ समाप्त भयो। मैले धेरै प्रयास गरें,” उनको उक्त भनाइले अर्जेन्टिनाली समर्थकमाझ ठूलो भावनात्मक तरंग सिर्जना गरेको थियो।

तर मेसीको सन्यास लामो समय टिकेन। देशभरबाट उनलाई टोलीमा फर्किन आग्रह गरियो। त्यतिबेला १५ वर्षीय किशोर एन्जो फर्नान्डेजले सामाजिक सञ्जालमा मेसीलाई खुला पत्र लेख्दै टोली नछोड्न अनुरोध गरेका थिए।

“तपाईं जे गर्न चाहनुहुन्छ गर्नुहोस्, लियो। तर कृपया राष्ट्रिय टोली नछोड्नुहोस्। रमाउनका लागि खेलिरहनुहोस्। मानिसहरूले तपाईंको मुस्कान गुमाउन चाहँदैनन्,” एन्जोले लेखेका थिए।

वर्षौंपछि त्यही एन्जो अहिले अर्जेन्टिनाको प्रमुख मिडफिल्डरका रूपमा मेसीसँगै विश्वकप फाइनल खेल्न मैदानमा उत्रिनेछन्। उनको त्यो भावुक सन्देश अहिले पुनः सामाजिक सञ्जालमा भाइरल बनेको छ।

मेसी र प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले कठिन यात्रा पार गर्दै फाइनलमा स्थान बनाएको छ। उपाधि जिते मेटलाइफ स्टेडियम मेसीका लागि आँसुको मैदानबाट जीवनकै सबैभन्दा ठूलो सफलताको प्रतीक बन्नेछ।

विश्व फुटबलका धेरै विश्लेषकले पनि यो फाइनललाई मेसीको महान् करिअरको सम्भावित स्वर्णिम समापनका रूपमा हेरेका छन्। यदि अर्जेन्टिनाले स्पेनलाई पराजित गर्दै विश्वकप जित्न सफल भयो भने, १० वर्षअघि निराशाको साक्षी बनेको यही मैदान मेसीका लागि इतिहास लेखिएको मैदानका रूपमा सदैव सम्झिनेछ।