काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई पठाएको ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले आगामी १५औँ महाधिवेशनमा सहभागिताको वातावरण बनाउन भन्दै यसअघि पठाएको प्रस्ताव सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले उक्त प्रस्ताव गत जेठ १८ गते नै उपसभापति विश्वप्रकाश शर्मालाई पठाइएको भए पनि अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नआएको बताए।
उनले पार्टी एकताका लागि आफूहरूले अन्तिमसम्म प्रयास गरेको दाबी गर्दै संस्थापन पक्षबाट त्यसअनुसारको पहल नभएको आरोप लगाए।
“पार्टी एकताका लागि हदैसम्मको प्रयास गर्ने कुरा भएको थियो। तर विशेष महाधिवेशनबाट आएको नेतृत्वले यतिका समयसम्म सार्थक पहल गरेको वा गर्न चाहेको देखिएन,” विश्वकर्माले भने, “त्यसैले यही साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौँ।”
यद्यपि संस्थापन पक्षले भने ह्वाट्सएपमार्फत प्राप्त प्रस्ताव औपचारिक प्रक्रियाअनुसार नआएको र त्यसबारे आवश्यक प्रतिक्रिया नदिइएको जनाएको छ।
देउवा पक्षले सार्वजनिक गरेको प्रस्तावअनुसार पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरी सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ।
दोस्रो प्रस्तावमा सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने माग गरिएको छ। तेस्रो बुँदामा पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ।
यस्तै चौथो प्रस्तावमा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति गठन गर्नुपर्ने भनिएको छ।
पाँचौँ प्रस्तावमा भने क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य गर्न जोड दिइएको छ। यसअनुसार तत्कालीन महामन्त्री तथा हालका सभापति गगन थापाको संयोजकत्वमा रहेको समितिले टुंगो लगाएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुने व्यवस्था गर्नुपर्ने तथा डिजिटल इन्ट्रीलाई केवल अभिलेखीकरणको प्रक्रियाका रूपमा लिनुपर्ने उल्लेख छ। डिजिटल इन्ट्रीलाई नवीकरणको नाममा महाधिवेशनमा भाग लिन पाउने वा नपाउने विषयसँग नजोड्न पनि प्रस्तावमा माग गरिएको छ।
कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरेको बताए । सोही दिन राष्ट्रिय भेलाको मिति घोषणा गर्ने इतरपक्षको तयारी छ ।
देउवा समूहको नेतृत्व गर्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक राख्दै आएपछि कार्यक्रम भने सिंहको नेतृत्वमा गर्न लागेको हो ।
देउवा पक्षले संस्थापनसँग सहमतिको प्रयास असफल बन्दै गएको निष्कर्ष निकाल्दै अब राष्ट्रिय भेलामार्फत आगामी राजनीतिक रणनीति तय गर्ने संकेत दिएको छ।

प्रतिक्रिया