काठमाडौं । नेपाली कांग्रेसका भुतपूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र संवैधानिक निकायहरूलाई आतंकित बनाउन खोजेको गम्भीर आरोप लगाएका छन् । केही महिनादेखि स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले चाँडै स्वदेश फर्किने घोषणा पनि गरेका छन् ।जननायक बिपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर एक विशेष विज्ञप्ति जारी गर्दै उनले सो घोषणा गरेका हुन् । विज्ञप्तिमा देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि दबाब सिर्जना गर्न थालेको उल्लेख गरेका छन् ।
‘न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ,’ विज्ञप्तिमा भनिएको छ । यस्तो प्रवृत्तिले लोकतन्त्र, संविधान र राष्ट्रियता नै जोखिममा पर्ने उनको तर्क छ ।
देउवाले मुलुकमा अहिले प्रतिशोध र निषेधको राजनीति हाबी हुन थालेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता औँल्याएका छन् ।
बिपी कोइरालाको २०३३ सालको ‘राष्ट्रिय मेलमिलापु नीतिको स्मरण गर्दै उनले भनेका छन्, ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध होइन, सहकार्य चाहिएको छ ।’
आफ्नो ६ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले नेपाली कांग्रेसले जस्तोसुकै कठिन घडीमा पनि देशलाई निकास दिएको दाबी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संविधान निर्माण गर्ने र भूकम्प तथा कोभिड–१९ जस्ता महामारीको सामना गर्ने काममा कांग्रेसले जिम्मेवार भूमिका निभाएको उल्लेख गर्दै उनले वर्तमान चुनौतीको सामना गर्न पनि कांग्रेस तयार रहेको बताएका छन् ।
गत फागुनमा सम्पन्न निर्वाचनमा जनताले विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई आफूले सम्मान गर्ने देउवाले बताएका छन् । यद्पि चुनाव हिंसा र त्राशको वातावरणमा सम्पन्न भएको उनको दावी छ । उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो मन र चिन्ता सधैँ देश र जनताप्रति केन्द्रित रहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना र राष्ट्रप्रेममाथि पूर्ण आस्था राख्छु ।’
विज्ञप्तिको पूर्ण पाठ
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
सर्वप्रथम नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता, जननायक तथा नेपाली कांग्रेसका सर्वोच्च प्रेरणास्रोत जननायक बिपी कोइरालाको स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, मेलमिलाप तथा जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ। उहाँको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् नेता तथा जननायक बिपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो। उहाँले ममाथि गर्नुभएको विश्वास, दिनुभएको जिम्मेवारी र सिकाउनुभएको लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, मेलमिलाप तथा जनताको सर्वोच्चताप्रति उहाँको अटल निष्ठा नै मेरो राजनीतिक जीवनको प्रेरणास्रोत रहँदै आएको छ।
त्यही प्रेरणा र विश्वासका साथ मैले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएँ। जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेकौँ कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन। किनकि मेरो विश्वास सधैँ एउटै रह्यो—प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन।
आज नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी प्रवृत्तिविरुद्ध अविचलित संघर्ष गर्दै आफ्नो गौरवपूर्ण आठ दशकको यात्रा पूरा गरेको नेपाली कांग्रेससमक्ष फेरि एउटा ऐतिहासिक चुनौती, अवसर र दायित्व एकसाथ उभिएको छ।
आफ्नो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र गरेको छैन, राष्ट्रले सामना गरेका कठिन घडीहरूमा पनि जिम्मेवार भूमिका निर्वाह गरेको छ। देशलाई हत्या, हिंसा र द्वन्द्वबाट शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने नेतृत्वदायी भूमिका, संविधानसभामार्फत संविधान निर्माण, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन कांग्रेसले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको इतिहास हाम्रो सामूहिक अनुभव हो। यही अनुभवले वर्तमान चुनौतीको सामना गर्न हामीलाई अझ दृढ र जिम्मेवार बनाएको छ।
विगत केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि मेरो मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको छ। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु।
आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन। यस्तो संस्कृतिको विरोध गर्नु र त्यसलाई पराजित गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार हो। यस मूल्यमा कुनै पनि प्रकारको सम्झौता विगतमा सम्भव थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन।
प्रजातन्त्र भनेको जनताको सामूहिक आत्मनिर्णयको अधिकार हो। जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति हो। लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता पनि दीर्घकालसम्म सुरक्षित रहन सक्दैनन्। त्यसैले लोकतन्त्रको रक्षा गर्नु भनेको राष्ट्रको रक्षा गर्नु हो।
गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा सम्पन्न भए पनि जनताले, विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई हामीले सम्मान गर्यौँ। प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता थियो।
तर दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ। यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसहित मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ।
हाम्रा सर्वकालीन पथप्रदर्शक जननायक बिपी कोइरालाले २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिमार्फत व्यक्तिगत सुरक्षाभन्दा राष्ट्र, लोकतन्त्र र राष्ट्रिय एकतालाई सर्वोपरि मान्दै स्वदेश फर्किनुभएको इतिहास आज पनि उत्तिकै प्रेरणादायी छ। त्यो इतिहास केवल सम्झनाका लागि होइन, वर्तमान चुनौतीको सामना गर्न मार्गदर्शन गर्ने जीवित आदर्श पनि हो।
प्रजातन्त्र, राष्ट्रियता र समाजवाद, राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, सामाजिक न्याय, समानता, समावेशिता र अवसरको समान पहुँच नेपाली कांग्रेसका आधारभूत मूल्य र मार्गदर्शक सिद्धान्त हुन्। यी केवल हाम्रो राजनीतिक एजेन्डा मात्र होइनन्, राष्ट्र निर्माणप्रतिको हाम्रो अटल प्रतिबद्धताका आधार पनि हुन्।
मेरो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरिएका थिए। ती निर्णयहरू नेपाली कांग्रेसले निर्धारण गरेका प्राथमिकताअनुरूप नै थिए। तर वर्तमान परिस्थितिले हामी सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको छ। आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। प्रतिशोध होइन, सहकार्य चाहिएको छ। त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ। प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण तथा साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ।
यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पणभाव राख्छु।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कँदैछु।
जय नेपाल।
शेरबहादुर देउवा

प्रतिक्रिया