ओली–प्रचण्डबीच तीन घण्टा लामो वार्ता, वाम सहकार्य औपचारिक प्रक्रियामा

ओली–प्रचण्डबीच तीन घण्टा लामो वार्ता, वाम सहकार्य औपचारिक प्रक्रियामा


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार करिब तीन घण्टाभन्दा लामो भेटवार्ता भएको छ। दुवै नेताबीच भएको छलफलमा वाम शक्तिबीचको सहकार्य, पार्टी एकताको सम्भावना, प्रदेश सरकारमा सत्ता साझेदारी तथा आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा सहकार्यका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।

नेकपा स्रोतका अनुसार ओली गुण्डुबाट बाहिरिएपछि ललितपुरमा दुवै नेताबीच भेट भएको थियो। छलफल सकारात्मक रहेको र वाम गठबन्धन निर्माणका विषयमा अधिकांश मुद्दामा समझदारी बनेको स्रोतको दाबी छ। स्रोतका अनुसार प्रचण्ड जनकपुरबाट फर्किएपछि यस सम्बन्धमा लिखित सहमतिको प्रक्रिया अघि बढ्ने तयारी छ।

एमाले सचिव महेश बस्नेतले पनि ओली र प्रचण्डबीच भेट भएको पुष्टि गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डको भनाइ उद्धृत गर्दै यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई बलियो बनाउने दिशामा महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्।

बस्नेतले वाम शक्तिहरूबीचको सहकार्यले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन टुटेपछि एमाले र नेकपाबीच राजनीतिक निकटता बढ्दै गएको थियो। प्रचण्ड श्रीलंकाबाट स्वदेश फर्किएपछि दुवै दलबीचको संवादले थप गति लिएको थियो। सोमबार प्रचण्डले सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा छलफल गरेका थिए। सोही दिन ओलीसँग भेट गर्ने तयारी भए पनि भेट मंगलबार सम्पन्न भएको हो।

ओलीसँग भेटपछि जनकपुर प्रस्थान गरेका प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका थिए। यद्यपि उनले तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल जारी रहेको जानकारी दिए।

यसैबीच, प्रचण्ड मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका छन्। उनले पार्टीको प्रशिक्षण, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम बुधबार साउन ६ गते आयोजना हुँदैछ। कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।