एजेन्सी। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार संयुक्त राज्य अमेरिका अझै पनि इरान संकटको कूटनीतिक समाधानका लागि वार्ता गर्न तयार रहेको, तर तेहरान त्यसमा गम्भिर नभएको बताएका छन्। यसैबीच विस्तार हुँदै गएको द्वन्द्वले विश्वका दुई महत्त्वपूर्ण ऊर्जा आपूर्ति समुद्री मार्गमा अवरोध उत्पन्न गरेको छ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको विदेशमन्त्रीहरूको बैठकमा बोल्दै रुबियोले यी टिप्पणी गरेका हुन्। उनले बोलेको एक दिनअघि साउदी अरबबाट एसियातर्फ कच्चा तेल बोकेका तीनवटा ट्यांकरले लाल सागरमा आफ्नो यात्रा बीचमै रोकेर फर्केका थिए। यो निर्णय यमनका इरान समर्थित हुथी विद्रोहीहरूको धम्कीपछि लिइएको मानिएको छ।
लाल सागरको प्रवेशद्वारमा पर्ने तटीय क्षेत्र नियन्त्रणमा राखेका हुथीहरूले सोमबार साउदी अरबमाथि नौसैनिक नाकाबन्दी घोषणा गरेका थिए। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको युद्धमा यो नयाँ मोर्चा बन्न सक्ने आकलन गरिएको छ। उक्त युद्धमा हालसम्म खाडी क्षेत्रभर हजारौं मानिसको ज्यान गइसकेको छ।
इरानले यसअघि नै फारस खाडीबाट बाहिरिने होर्मुज जलडमरूमध्य हुँदै जहाज आवतजावतमा अवरोध गर्ने चेतावनी दिइसकेको छ। यस्तो अवस्थामा लाल सागर साउदी तेल निर्यातको मुख्य वैकल्पिक मार्ग बनेको थियो, जहाँबाट दैनिक लाखौं ब्यारेल तेल ढुवानी हुँदै आएको छ।
सोमबार रोयटर्ससँग कुरा गर्दै एक वरिष्ठ इरानी अधिकारीले मध्यस्थकर्ताहरूबाट १० दिने युद्धविरामको प्रस्ताव प्राप्त भएको बताएका थिए। जुन महिनामा अमेरिका र इरानबीच भएको अन्तरिम युद्धविराम सम्झौता जोगाउने प्रयासस्वरूप उक्त प्रस्ताव आएको जनाइएको छ। त्यसअघि अप्रिलमा भएको युद्धविरामलाई जुनको सम्झौताले प्रतिस्थापन गरेको थियो।
कूटनीतिक प्रयास जारी रहेको संकेतस्वरूप इरानका गृहमन्त्री इस्कन्दर मोमेनीले मध्यस्थकर्ता पाकिस्तानको भ्रमण गरी वार्ता प्रयासलाई निरन्तरता दिन आग्रह गरेका छन्।
रुबियोले अमेरिका सधैं कूटनीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै इरान पनि वार्ताप्रति त्यत्तिकै प्रतिबद्ध छ कि छैन भन्नेमा आफूलाई शंका रहेको बताए।
उनले भने, “हामीलाई अहिले समस्या के छ भने उनीहरू वार्ताप्रति गम्भिर छैनन्। यदि उनीहरू गम्भिर छन् भने हामी पनि गम्भिर छौं। यदि होइनन् भने हाम्रो र हाम्रा सहयोगीहरूको हित संरक्षण गर्न आवश्यक कदम चाल्नेछौं।”
फिलिपिन्सको राजधानी मनिलामा बोल्दै रुबियोले इरानलाई होर्मुज जलडमरूमध्य नियन्त्रण गर्न दिन नहुने बताए। त्यसो भए अन्तर्राष्ट्रिय जलमार्गमा कुनै पनि राष्ट्रले मनपरी नियन्त्रण गर्ने खतरनाक उदाहरण स्थापित हुने उनको भनाइ थियो। दक्षिण चीन सागरमा चीनसँग सीमा विवाद रहेका दक्षिणपूर्वी एसियाली मुलुकहरूका लागि पनि यसले नकारात्मक सन्देश दिने उनले बताए।
उनले भने, “यदि कुनै राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गरेर शुल्क असुल्ने, शुल्क नतिरे जहाज विस्फोट गराइदिने अभ्यास सुरु गर्यो भने त्यसले विश्वभरका अन्य क्षेत्रमा पनि त्यस्तै जोखिम निम्त्याउनेछ।”
इरानमा अमेरिकी आक्रमण जारी
कूटनीतिक प्रगतिको कुनै संकेत नदेखिएपछि अमेरिकी सेनाले मंगलबार लगातार ११औँ रात इरानका विभिन्न लक्ष्यमा बमबारी गरेको छ।
बुधबार बिहान तेहरानवासीहरूले विस्फोटको आवाज सुनेको बताएका छन्। इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार राजधानीमाथि हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो।
इरानको एक मात्र आणविक विद्युत् केन्द्र रहेको बुशेहर प्रान्तका तीन स्थानमा बुधबार बिहान अमेरिकी आक्रमण भएको इरानको सरकारी समाचार संस्था इरनालाई एक अधिकारीले बताएका छन्। तीमध्ये आणविक केन्द्र नजिकैको विद्युत् सबस्टेशन पनि परेको जनाइएको छ।
इरानको प्रतिआक्रमण दाबी
इरानी सेनाले बुधबार बिहान कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य संरचनामाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
सेनाका अनुसार जोर्डनको अल अज्राक हवाई अड्डास्थित आवास भवन र उपकरण भण्डारण केन्द्रमा आक्रमण गरिएको छ। त्यसपछि बहराइनको शेख इसा हवाई अड्डामा रहेका उपकरण गोदाम र विमान मर्मत ह्याङ्गरलाई ‘अराश’ आत्मघाती ड्रोनमार्फत निशाना बनाइएको जनाइएको छ।
यद्यपि रोयटर्सले यी दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
१८ अमेरिकी सैनिकको मृत्यु पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म युद्धमा १८ जना अमेरिकी सैनिक मारिएको पुष्टि गरेका छन्। तीमध्ये पछिल्ला केही दिनमा जोर्डन र इराकस्थित अमेरिकी सैन्य अड्डामाथि भएको इरानी आक्रमणमा चार जनाको मृत्यु भएको उनले बताएका छन्।
तेलको मूल्य फेरि उकालो
हुथीहरूको धम्कीपछि मंगलबार २ प्रतिशतभन्दा बढी बढेको अन्तर्राष्ट्रिय तेलको मूल्य बुधबार एसियाली कारोबारमा पनि उकालो लाग्यो।
ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिव्यारेल ९१ अमेरिकी डलरमाथि पुगेको छ भने अमेरिकामा पेट्रोलको मूल्य पुनः प्रतिग्यालोन ४ डलरभन्दा माथि पुगेको छ।
‘आँसुको ढोका’ बन्द गर्ने चेतावनी
हुथीहरूले मंगलबार जहाज सञ्चालकहरूलाई पठाएको पत्रमा साउदी तेल लोड वा अनलोड गर्ने कुनै पनि जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले बाब अल–मन्देब जलडमरूमध्य, जसलाई ‘गेट अफ टियर्स’ (आँसुको ढोका) पनि भनिन्छ, हालसम्म बन्द नभएको बताए।
उनले भने, “अहिलेसम्म त्यस्तो भएको छैन। यदि भयो भने हामी त्यसको उचित जवाफ दिनेछौं।”
मंगलबार चीन र भारतका लागि साउदी कच्चा तेल बोकेका तीन वटा ट्यांकरले यमनको तटीय क्षेत्र पार नगरी यु–टर्न गरेर स्वेज नहरतर्फ फर्केका थिए।
युद्ध अवधिभर साउदी अरबले केही तेल पाइपलाइनमार्फत लाल सागरको यान्बु बन्दरगाहसम्म पुर्याएर ढुवानी गर्दै आएको थियो। तर हुथीहरूले त्यो वैकल्पिक मार्ग पनि पूर्ण रूपमा बन्द गरे विश्व बजारमा तेल आपूर्ति घट्न सक्ने विश्लेषण गरिएको छ।
नातान्ज आणविक केन्द्रमा फेरि आक्रमणको चेतावनी
ट्रम्पले मंगलबार इरानको नातान्जस्थित आणविक केन्द्रमा पुनः आक्रमण गर्न सकिने चेतावनी दिएका छन्।
उनले जुन २०२५ मा अमेरिकी सेनाले पहाडभित्र बनेको उक्त केन्द्रमा गरेको आक्रमणपछि त्यो “पूर्ण रूपमा ध्वस्त भएको” दाबी दोहोर्याए। इरानले भने त्यसको कडा प्रतिशोध लिने चेतावनी दिएको छ।
यसैबीच इरानको स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार हालै अमेरिकी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ भने ५०० जना घाइते भएका छन्।

प्रतिक्रिया