डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सत्याग्रहण सुरु गरेका छन् ।

बिहीबार डा. केसीले कैलालीको धनगढीमा सत्याग्रह सुरु गरेका हुन् ।

डा. केसीले धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गरेका छन् । सरकारले यसअघि आफूसँग गरेका सहमति अनुसार काम नगरेकार र आफ्ना मागप्रति बेवास्ता गरेपछि सत्याग्रहमा बस्न बाध्य भएको जनाएका छन् ।

उनका मागहरू –
१) स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।

२) चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।

३) राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् ।

४) सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् ।