काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी पहल (बिमिस्टेक) का महासचिव राजदूत इन्द्रमणि पाण्डे आउँदो सोमबार नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल भ्रमणका क्रममा महासचिव पाण्डेले परराष्ट्रमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, उनले प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गर्न समय माग गरेका छन् । तर, भेटको समय तय भइसकेको छैन ।
भारतीय विदेश सेवाका करिअर कूटनीतिज्ञ पाण्डेले सन् १९९० मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए । बिमिस्टेकको महासचिव नियुक्त हुनुअघि उनी जेनेभास्थित संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा भारतका स्थायी प्रतिनिधि थिए ।
३५ वर्षभन्दा लामो कूटनीतिक अनुभव भएका पाण्डेले ओमानका लागि भारतका राजदूत, फ्रान्सका लागि उपराजदूत तथा चीनको ग्वाङझाउमा भारतका महावाणिज्यदूतका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । साथै उनले इजिप्ट, सिरिया, पाकिस्तान, अफगानिस्तान र स्विट्जरल्यान्डस्थित भारतीय नियोगहरूमा विभिन्न कूटनीतिक जिम्मेवारी निर्वाह गरेका छन् ।
उनको नेपाल भ्रमणका क्रममा बिमिस्टेक सहकार्य, क्षेत्रीय सम्पर्क, व्यापार, पर्यटन तथा बहुपक्षीय सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया