कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा, देउवा पक्षको पुनरावलोकन निवेदन

कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा, देउवा पक्षको पुनरावलोकन निवेदन


काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत पुगेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले पुनरावलोकन निवेदन दर्ता गराएका छन् ।

सर्वोच्चका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बिहीबार देउवाको वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता भएको हो ।

गत वैशाख ४ गते न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो ।

सो फैसलामा त्रुटी रहेको दाबी गर्दै देउवा–खड्का पक्षले पुनरावलोकनको माग गरेका हुन् । यसअघि उनीहरूले निर्वाचन आयोग, सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

अब उक्त पुनरावलोकन निवेदन तीन न्यायाधीशको इजलासमा पेश हुनेछ । इजलासले पुनरावलोकनका लागि निस्सा (अनुमति) दिएमा मुद्दा पुनः सुनुवाइ प्रक्रियामा जानेछ ।

अनुमति नदिए सर्वोच्चको वैशाख ४ को फैसला अन्तिम हुनेछ ।