काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २९ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार प्रमुख नदीहरूको बहाव भने नियन्त्रणमै रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
यद्यपि, काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरसहित खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रुकुम पूर्व, रुकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्नेछ। महाशाखाका अनुसार यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेश भई बहने केही स(साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। त्यसैगरी, पर्सि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने अनुमान महाशाखाले गरेको छ।

प्रतिक्रिया