काठमाडौं । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा पक्राउ परेकी बेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार केसीलाई बिहीबार राति नै सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा रिहा गरिएको हो। उनलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा अनिवार्य रूपमा उपस्थित हुने शर्तमा छाडिएको प्रहरीले जनाएको छ।
पुराण वाचिका राधिका दासीको जाहेरीका आधारमा बिहीबार बिहान केसीलाई पक्राउ गरिएको थियो। पक्राउपछि प्रहरीले अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग १० दिनको म्याद माग गरेको भए पनि कार्यालयले प्रारम्भिक रूपमा एक दिनको मात्रै म्याद स्वीकृत गरेको थियो। स्रोतका अनुसार जाहेरवाली राधिका दासीले केसीलाई थुनामा नराखी सहमतिमार्फत विवाद समाधान गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तर, फौजदारी प्रकृतिको मुद्दामा जाहेरी दर्ता भइसकेपछि मिलापत्रको कानुनी व्यवस्था नभएकाले प्रहरीले त्यसअनुसार प्रक्रिया अघि बढाएको थियो।
प्रहरीले कानुनी रूपमा मिलापत्र गराउने अधिकार नभएको जानकारी गराएपछि उक्त विषय सरकारी वकिल कार्यालयसमक्ष पनि राखिएको थियो। त्यसैका आधारमा लामो अनुसन्धान म्याद नदिई एक दिनको मात्रै म्याद थप गरिएको र सोही दिन राति हाजिर जमानीमा रिहा गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। यद्यपि, हाजिर जमानीमा छुटेको भन्दै मुद्दा समाप्त हुने भने होइन। उनीविरुद्धको अनुसन्धान र कानुनी प्रक्रिया यथावत् जारी रहनेछ। अनुसन्धानका क्रममा प्रहरी वा सरकारी वकिल कार्यालयले बोलाएको समयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। तोकिएको समयमा उपस्थित नभए पुनः पक्राउ गरी कानुनी कारबाही अघि बढाउन सकिने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया