नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक सञ्चालनमा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक सञ्चालनमा

परीक्षण अवधिमा निःशुल्क सेवा


काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिनसम्म सञ्चालन, सुरक्षा र ट्राफिक व्यवस्थापनको परीक्षण गरिने भएकाले यस अवधिमा सबै वर्गका सवारीसाधनलाई प्रवेश दिइने छैन। परीक्षण अवधि सकिएपछि क्रमिक रूपमा अन्य सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिने व्यवस्था गरिएको छ। कुल २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, उकालो र घुमाउरो सडकको समस्या धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ। यसबाट यात्रु तथा सवारीसाधनले करिब एक घण्टासम्म यात्रा समय बचत गर्ने विश्वास गरिएको छ।

सडक विभागले सुरुङमार्ग सञ्चालनपछि लाग्ने शुल्कसमेत सार्वजनिक गरेको छ। कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक तथा टिपरले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, ठूला बस तथा ट्रकले काठमाडौंतर्फ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। सुरुङमार्गमा पैदलयात्री, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ। साथै पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

आयोजनामा मुख्य सुरुङसँगै एउटा उद्धार सुरुङ पनि निर्माण गरिएको छ। मुख्य सुरुङबाट सवारीसाधन सञ्चालन हुनेछन् भने आकस्मिक उद्धारका लागि छुट्टै सुरुङ प्रयोग गरिनेछ। परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा अत्याधुनिक सिसीटिभी क्यामेरा, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार उपकरण, सुरक्षा संयन्त्र तथा अक्सिजन प्रवाहको व्यवस्था गरिएको छ।

काठमाडौैंको चन्द्रागिरी नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा निस्कन्छ। आयोजना निर्माणमा जापान सरकारको २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ। निर्माण कार्य जापानको हाज्मा एन्डो कर्पोरेसनले सम्पन्न गरेको हो।

सुरुङमार्गमा विद्युतीय माध्यमबाट शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ। सुरुमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी र अन्य प्राविधिक जटिलताका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो। सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्पन्न भएको थियो।