कांग्रेस क्रियाशील सदस्यता आवेदन अनुमोदनको अन्तिम मिति साउन १४ तोकियो

कांग्रेस क्रियाशील सदस्यता आवेदन अनुमोदनको अन्तिम मिति साउन १४ तोकियो


काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म निर्धारण गरेको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता व्यवस्थापनलाई समयमै टुंग्याउने उद्देश्यसहित विभिन्न निर्णय गरेको हो। कांग्रेसमा यस प्रकारको अन्तिम मिति पटकपटक तोकिएको छ । खास गरी संस्थापनइतरपक्षले अद्यावधिक नगर्न बहिष्कार अभियान चलाएकाले यस्तो मिति पटकपटक सारिएको हो ।

बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत स्वयं आवेदन दिएका सदस्यहरूको आवेदन साउन १४ गतेभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय गरेको छ। त्यस्तै, पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट प्राप्त आवेदन तीन–तीन दिनभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ।

समितिले इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी जिल्लाका सदस्य, भातृ संस्था र शुभेच्छुक संस्थाका सदस्यहरूको अद्यावधिक एक्सेल फाराममार्फत केन्द्रबाट गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि सम्बन्धित फाराम साउन १५ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्नेछ। प्राप्त विवरणको आधारमा केन्द्रले सदस्यता अद्यावधिक गर्ने जनाएको छ।

बैठकले डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गर्न नसकेका तहका हकमा वैकल्पिक व्यवस्था गर्ने निर्णय पनि गरेको छ। त्यस्ता स्थानमा केन्द्रीय प्रतिनिधिको सिफारिसमा सभापति तोकी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता अनुमोदनको प्रक्रिया अघि बढाइनेछ।

त्यस्तै, विविध कारणले सदस्यता अद्यावधिक गर्न छुटेका जिल्लाका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्य पनि केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाट गरिने निर्णय भएको छ।

बैठकले कुनै वडामा क्रियाशील सदस्यको संख्या ४० भन्दा कम र ३५ वर्षमुनिका सदस्य पाँच जनाभन्दा कम भएमा त्यस्ता वडामा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णयसमेत गरेको छ।