काठमाडौं । सम्राट बस्नेतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । निर्देशक बस्नेतले चलचित्र ‘दुर्गा’ निर्देशन गर्न लागेका हुन् ।
थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा दुर्गा मन्दिर अगाडि उभिएकी एक युवती छिन् । मन्दिरको ढोका अगाडि उनी एक्लै उभिएकी छन् ।
मन्दिरको ढोका अगाडि त्रिशूल छ । सिनेमाको नाम ‘दुर्गा’ हुनु र त्रिशूलअगाडि बच्चा उभिएको देखिनुले यी दुईबीच केही सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ ।
नामले यो सिनेमाको मुख्य पात्र दुर्गा रहेको प्रस्ट संकेत गरेको छ । सिनेमा महिलाप्रधान रहेको पनि अनुमान लगाउन सकिन्छ । मन्दिरमा रातो कलरको अधिकता र युवतीले पनि रातो नै कलरको लुगा लगाएको देखाइनुले सिनेमामा हत्या वा हिंसा प्रचुरमात्रामा रहेको बुझ्न सकिन्छ ।
तर, सिनेमाको दुर्गाको हो भनेर जानकारी दिइएको छैन । कलाकार र प्राविधिक टिमबारे निर्माण टोली मौन रहेको छ । “चाँडै नै हामी चलचित्रका मुख्य कलाकारबारे जानकारी दिने छौँ । केही कलाकार अडिसनबाट छान्ने हाम्रो तयारी छ,” निर्देशक बस्नेतले भने, “सिनेमा मिथोलोजिकल हुनेछ ।”
कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका छन् ।
९० दिन छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं, पोखरा र चितवनमा खिचिनेछ । असोजको पहिलो साताबाट चलचित्र छायांकनमा जानेछ ।
पछिल्लो समय निर्देशक बस्नेतको निर्देशन रहेको चलचित्र ‘लाखे’ रिलिज भएको थियो । यो चलचित्रको केही दिन अगाडि मात्रै युट्युब रिलिज गरिएको थियो ।

प्रतिक्रिया