डिम्ब निकालिएको घटनामा प्रहरीले लियो  डा. नूतन शर्मासंग बयान 

 डिम्ब निकालिएको घटनामा प्रहरीले लियो  डा. नूतन शर्मासंग बयान 


काठमाडौ ।  ललितपुरको बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको डिम्ब (अण्डा) निकालिएको घटनामा प्रहरीले वरिष्ठ चिकित्सक डा. नूतन शर्मासँग बयान लिएको छ।

असार १४ गते ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आइभीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको आरोप छ। उक्त घटनामा डा. शर्माको संलग्नता देखिएपछि ललितपुर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

ललितपुरका एसएसपी तुलबहादुर कार्कीले शुक्रबार डा. शर्माको बयान लिई उहाँलाई हाजिर जमानीमा रिहा गरिएको जानकारी दिएका छन्। एसएसपी कार्कीले भने, “सरकारी वकिल कार्यालयको सहमतिमा उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेका छौं।”

किशोरीको अण्डा निकाल्ने चिकित्सक र बिचौलियाबारे अनुसन्धान गर्न माग गर्दै साउन १ गते पीडित परिवारले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए। डा. शर्मामाथि अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले लमजुङ घर भएकी र इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरी हाजिर जमानीमा राखेको थियो। उनी बिचौलियाका रूपमा अनुसन्धानको घेरामा छिन्।

डा. नूतन शर्मा वरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ हुन्। प्रहरीले यसअघि उहाँलाई पक्राउ गर्न अदालतसँग दुई पटक अनुमति मागेको थियो। अदालतले अनुमति नदिएपछि सरकारी वकिलले बिचौलिया राधिका गोतामेलाई पनि हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार किशोरीलाई ३० हजार रुपैयाँ दिएर अण्डा निकालिएको थियो। किशोरी बिरामी भएपछि मात्र परिवारले उक्त घटनाबारे थाहा पाएको हो।

प्रहरीले हालसम्म दुवै जनालाई हाजिर जमानीमा राखेर थप अनुसन्धान अगाडि बढाइरहेको छ।