इरानको सैन्य नेतृत्वमा व्यापक फेरबदल

इरानको सैन्य नेतृत्वमा व्यापक फेरबदल


काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सोमबार सैन्य नेतृत्वमा व्यापक फेरबदल गर्दै शीर्ष छ जना सैन्य कमाण्डर नियुक्त गरेका छन् ।

युद्ध सुरु भएयता महिनौँदेखि औपचारिक आदेशबिनै सञ्चालनमा रहेको सैन्य नेतृत्वलाई यस निर्णयले औपचारिकता दिएको छ । तर, गुप्तचर निकायका केही महत्त्वपूर्ण पदहरूमा भने अझै स्थायी प्रमुख नियुक्त गरिएको छैन ।

खामेनीले अली अब्दोल्लाहीलाई इरानी सशस्त्र बलका प्रधानसेनापति (Chief of Staff) नियुक्त गरेका छन् । त्यस्तै, स्थलसेनाका पूर्वकमाण्डर कियोमार्स हेयदरीलाई प्रधानसेनापतिको उपप्रमुख बनाइएको छ ।

यस्तै, अहमद वहिदीलाई औपचारिक रूपमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कमाण्डर-इन-चीफ नियुक्त गर्दै मेजर जनरलको दर्जा प्रदान गरिएको छ । मोस्तफा इजादीलाई आईआरजीसीको उपकमाण्डर नियुक्त गरिएको छ । उनी यसअघि खातम अल-अनबिया केन्द्रीय मुख्यालय अन्तर्गत रहेको साइबर तथा नयाँ सुरक्षा चुनौतीसम्बन्धी मुख्यालयका प्रमुख थिए ।

त्यसैगरी, रियर एडमिरल अली अजमाईलाई आईआरजीसी नौसेनाको कमाण्डर तथा आईआरजीसीको गुप्तचर संगठनका पूर्वप्रमुख होसेन ताएबलाई अर्धसैनिक बल बासिजको कमाण्डर नियुक्त गरिएको छ ।

वहिदी र अजमाई यसअघि नै क्रमशः आईआरजीसी र आईआरजीसी नौसेनाको नेतृत्व गरिरहेको सार्वजनिक जानकारी आएको थियो । तर, उनीहरूको नियुक्तिसम्बन्धी सर्वोच्च नेताको औपचारिक आदेश सार्वजनिक भएको थिएन । सोमबारको निर्णयले उनीहरूको जिम्मेवारीलाई कानुनी मान्यता दिएको हो ।

यस वर्ष आईआरजीसी प्रमुख मोहम्मद पाकपुरको मृत्यु भएपछि वहिदीलाई नेतृत्वमा ल्याइएको थियो । त्यस्तै, जुलाईमा नौसेना प्रमुख अलिरेजा ताङ्सिरी मारिएपछि अजमाई सार्वजनिक रूपमा नौसेनाको नेतृत्वमा देखिएका थिए ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि सैन्य नेतृत्वमा सिर्जित सबैभन्दा महत्त्वपूर्ण रिक्त पदहरू सोमबारका नियुक्तिबाट पूर्ति गरिएका छन् ।

प्रधानसेनापति नियुक्त भएका अब्दोल्लाहीले यसअघि खातम अल-अनबिया केन्द्रीय मुख्यालयको नेतृत्व गरिरहेका थिए । युद्धकालीन अवस्थामा इरानका सम्पूर्ण सशस्त्र बलबीच समन्वय गर्ने यही मुख्यालयको प्रमुख जिम्मेवारी उनीसँग थियो ।

युद्धका क्रममा उनी अमेरिकाले र इजरायलले सामना गर्नुपर्ने चेतावनी बारम्बार दिने प्रमुख सैन्य अधिकारीका रूपमा पनि परिचित भएका थिए । उनले इरानको क्षेप्यास्त्र अभियान तथा हर्मुज जलडमरूमध्यलाई रणनीतिक दबाबको माध्यमका रूपमा प्रयोग गर्ने सैन्य योजना समन्वय गरेका थिए ।

नियुक्तिसँगै खामेनीले सशस्त्र बलको प्रधानसेनापति कार्यालय र खातम अल-अनबिया मुख्यालयलाई एकीकृत गर्ने प्रक्रिया पूरा गर्न निर्देशनसमेत दिएका छन् ।

सबैभन्दा राजनीतिक रूपमा चर्चित निर्णय भने होसेन ताएबको पुनरागमनलाई मानिएको छ ।

ताएब यसअघि बासिजका प्रमुख थिए । त्यसपछि उनले एक दशकभन्दा बढी समय आईआरजीसीको गुप्तचर संगठनको नेतृत्व गरेका थिए । तर, सन् २०२२ मा इजरायलसँग जोडिएका भनिएका सुरक्षा चुहावट र गोप्य कारबाहीपछि उनलाई उक्त पदबाट हटाइएको थियो ।

पदबाट हटाइए पनि ताएब सत्ता केन्द्रसँग निकट नै रहेका थिए । उनी मोज्तबा खामेनी निकट पुरानो सुरक्षा–गुप्तचर समूहका प्रभावशाली सदस्य मानिन्छन् । हालको युद्धका क्रममा पनि उनी अमेरिका–इरान वार्तालगायत संवेदनशील राजनीतिक तथा सुरक्षा छलफलमा सक्रिय थिए ।

बासिजको नेतृत्वमा उनको पुनरागमनलाई बाह्य सुरक्षा चुनौतीसँगै सम्भावित आन्तरिक विरोध प्रदर्शन नियन्त्रणको तयारीका रूपमा समेत हेरिएको छ ।

गुप्तचर निकायमा अझै रिक्तता

यद्यपि सैन्य नेतृत्वमा व्यापक नियुक्ति गरिए पनि आईआरजीसीका दुई प्रमुख गुप्तचर निकायमा अझै स्थायी प्रमुख नियुक्त गरिएको छैन ।

आईआरजीसीको गुप्तचर संगठन तथा गुप्तचर सुरक्षा संगठन दुवैको नेतृत्व गरिरहेका माजिद खादेमी अप्रिल ६ मा तेहरानमा भएको आक्रमणमा मारिएका थिए ।

यी दुई निकायको जिम्मेवारी फरक–फरक छ । गुप्तचर संगठनले मुख्यतः आन्तरिक सुरक्षा, राजनीतिक निगरानी तथा दमनसम्बन्धी काम गर्छ भने गुप्तचर सुरक्षा संगठनले आईआरजीसीभित्र घुसपैठ रोक्ने, प्रतिगुप्तचर गतिविधि सञ्चालन गर्ने तथा संगठनभित्रको निष्ठा सुनिश्चित गर्ने जिम्मेवारी सम्हाल्छ ।

त्यस्तै, प्रहरी गुप्तचर संगठनका प्रमुख घोलामरेजा रेजाइयान पनि युद्धको सुरुआती अमेरिकी–इजरायली आक्रमणमा मारिएका थिए । उनको स्थानमा पनि अहिलेसम्म स्थायी नियुक्ति भएको छैन ।

यसैगरी, सशस्त्र बलको प्रधानसेनापति कार्यालयअन्तर्गत गुप्तचर उपप्रमुख घोलामरेजा मेहराबी र अपरेसन उपप्रमुख मेहदी रब्बानी सन् २०२५ को युद्धमा मारिएपछि ती पदहरू पनि अझै रिक्त छन् ।

सैन्य नेतृत्वमा फेरबदल भए पनि युद्धका कारण खाली भएका रक्षा मन्त्रालय र गुप्तचर मन्त्रालयको नेतृत्व भने अझै टुंगिएको छैन ।

रक्षामन्त्री अजिज नासिरजादेह मारिएपछि राष्ट्रपति मसुद पेजेशकियानले माजिद इब्न अल-रेजालाई कार्यवाहक रक्षामन्त्री नियुक्त गरेका थिए । उनले मन्त्रालयको काम सम्हालिरहेका भए पनि स्थायी रक्षामन्त्रीका रूपमा उनको नाम संसद्मा पेश गरिएको छैन ।

त्यस्तै, गुप्तचरमन्त्री इस्माइल खतिबको मार्चमा मृत्यु भएपछि कार्यवाहक मन्त्री नियुक्त गरिएको जनाइए पनि उनको नाम सार्वजनिक गरिएको छैन ।

यसअघि इरान इन्टरनेसनलले राष्ट्रपति पेजेशकियानले स्थायी गुप्तचरमन्त्री नियुक्त गर्ने प्रयास गरे पनि अहमद वहिदी र आईआरजीसी नेतृत्वले त्यसमा असहमति जनाएको रिपोर्ट गरेको थियो ।

रक्षा र गुप्तचर मन्त्रालयका पदहरू भने सैन्य कमाण्डरजस्तो सर्वोच्च नेताको आदेशबाट मात्रै नियुक्त गर्न मिल्दैन ।

इरानको संविधानको धारा १३३ अनुसार मन्त्रीहरू राष्ट्रपतिले नियुक्त गर्छन् र उनीहरूलाई संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यसैले ती दुई मन्त्रालयको नेतृत्व अझै औपचारिक रूपमा टुंगो लाग्न बाँकी रहेको छ ।