काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले हर्मुजमा बिछ्याइएका सबै बारुदी सुरुङ (माइन) हटाइसकेको दाबी गरेका छन् । उनले अहिले विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग पुनः व्यावसायिक जहाजका लागि सुरक्षित र खुला रहेको बताए ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका अहिले हर्मुजमा पूर्ण नियन्त्रण कायम गर्न सफल भएको दाबी गरे ।
“स्थिति अलि जटिल छ, किनभने उनीहरू (इरान) बेला–बेलामा समुद्रमा बारुदी सुरुङ बिछ्याउँछन् । तर हामी ती सुरुङ फेला पार्छौं । हामीले त सम्पूर्ण हर्मुज नै माइन हटाएर सुरक्षित बनाइसकेका छौं,” ट्रम्पले भने ।
ट्रम्पको यो अभिव्यक्ति अमेरिका र इरानबीच हर्मुजलाई पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने विषयमा वार्ता भइरहेका बेला आएको हो ।
इरानले हर्मुज पूर्ण रूपमा खोल्नुअघि अमेरिका र उसका सहयोगी मुलुकबाट केही रियायत (कन्सेसन) चाहिने अडान राख्दै आएको छ । साथै, उक्त मार्गबाट आवतजावत गर्ने व्यावसायिक जहाजबाट शुल्क उठाउने योजना पनि इरानले दोहोर्याएको छ ।
इरानको मागप्रति प्रतिक्रिया दिँदै ट्रम्पले आफूले पनि युद्धका क्रममा घाइते वा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्तिका लागि इरानसँग क्षतिपूर्ति माग्ने बताएका छन् । यसअघि गत सप्ताहन्तमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्धको सुरुआतमै इरानले हर्मुजमा ठूलो संख्यामा बारुदी सुरुङ बिछ्याएको बताएका थिए ।

प्रतिक्रिया